तरकारी, फलफूल र मासु आयात प्रतिबन्ध



०८ बैशाख २०७७, काठमाडौं

यहाँ तरकारी, फलफूल, मासु र अण्डाको आयातमा प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन बाहिरी जिल्लाबाट आयात हुने दूधजन्य पदार्थ खरीदबिक्रीमा जिप्रकाले रोक लगाएको हो ।

व्यापारीले भारतबाट दूध, तरकारी, फलफूल, मासु र अण्डा जिल्ला भित्र्याउँदा कोरोना भित्रिने जोखिम भएकाले खरीदबिक्रीमा प्रतिबन्ध लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले बताउनुभयो । सांसदले कोरोना भाइरस नियन्त्रण र जिल्लाको अवस्थाबारे क्रियाशील प्रमुख राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखसँग गरेको अलगअलग बैठक तथा छलफलपछि यस्तो निर्णय गरिएको हो ।

बैठकमा जिल्लामा कोरोना भाइरस नियन्त्रणका निम्ति गरिएका प्रयास, स्वास्थ्य सामग्रीको अवस्था, दैनिक उपभोग्य सामग्रीको सहज आपूर्ति, विकासनिर्माणलगायत विषयमा छलफल भएको प्रदेशसभा सदस्य चेतनारायण आचार्यले बताउनुभयो । भारत र नेपालका सीमा नाकामा रहेका जिल्लाबासीको स्वास्थ्योपचार र गाँसबासको उचित प्रबन्ध गर्न तथा छिमेकी देशमा रहेका यहाँका नागरिकलाई आवश्यक प्रक्रिया पूरा गरी ल्याउने वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गर्ने निर्णय पनि भएको छ ।

छलफलमा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, राष्ट्रियसभाका सदस्य चन्द्रबहादुर खड्का, प्रदेशसभासदस्यद्वय आचार्य र रामजीप्रसाद घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिव ठाकुरकुमार विक., कार्यालय सदस्यद्वय पीताम्बर भुसाल र राजेन्द्र भुसाल, नेपाली कांग्रेसका सभापति विष्णुप्रसाद खनाल रउपसभापति शान्ता भण्डारी तथा राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर बिसी, सागर केसी, झबिलाल थापालगायतले कोरोनाविरुद्ध सबै सचेत रहन जिल्लाबासीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्