बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना हुने



०६ बैशाख २०७७, काठमाडौं

जिल्ला अस्पताल बैतडीमा कोरोना परीक्षण गर्न प्रयोगशाला स्थापना हुने भएको छ । यसका लागि विज्ञको टोलीले सम्भाव्यता अध्ययनसमेत गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पतालमा पनि सो परीक्षणका लागि पिसिआर ल्याब स्थापना गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौका भाइरोलोजिष्ट डा श्रवणकुमार मिश्र नेतृत्वको टोलीले अस्पतालमा प्रयोगशाला स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो । टोलीमा डा मिश्रसँगै डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरीप्रसाद भुसाल सहभागी हुनुहुन्थ्यो । जिल्ला अस्पतालमा पिसिआर प्रयोगशाला स्थापना गर्ने कुराले आफूहरुलाई उत्साहित बनाएको डा जोशीको भनाइ छ ।

प्रयोगशाला सञ्चालनमा आएमा कोरोनाको मात्रै नभएर अन्य मलिकुलर जाँचका लागिसमेत सजिलो हुने डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख भुसालले जानकारी दिनुभयो । जिल्ला अस्पतालको ५० श्ययाको भवन निर्माण कार्यसमेत जारी रहेकाले प्रयोगशला स्थापना हुने कुराले भविष्यमा जिल्ला अस्पतालले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रदेश सरकारद्वारा पालिकालाई डेढ करोड सहयोग
सुदूरपश्चिम प्रदेश सरकारले यहाँका १० वटै स्थानीय तहमा रु एक करोड ५० लाखभन्दा बढी पठाएको छ । जारी लकडाउनका कारण समस्या परेका नागरिकलाई राहत दिनका लागि रु एक करोड ६० लाख ३० हजार पठाएको हो ।

मन्त्रिपरिषद् बैठकले केही दिनअघि गरेको निर्णयअनुसार असहाय, गरिब, विपन्न र ज्यालादारी गुमाएका परिवारलाई राहत दिनका लागि प्रदेश सरकारले रकम पठाएको प्रदेशसभा सदस्य लीलाधर भट्टले जानकारी दिनुभयो । प्रदेश सरकारले विपन्न, गरिब, असहाय र ज्यालादारी गुमाएका परिवारलाई प्रतिपरिवार तीन हजारका दरले राहत दिने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार दशरथचन्द नगरपालिकामा रु २० लाख, दोगडाकेदार गाउँपालिकामा रु १६ लाख, पुर्चौंडी नगरपालिकामा रु २६ लाख २० हजार, पाटन नगरपालिकामा रु १७ लाख २० हजार र मेलौली नगरपालिकामा रु १३ लाख ७० हजार राहत रकम पठाइएको छ ।

यस्तै शिवनाथ गाउँपालिकामा रु ११ लाख ९० हजार, पञ्चेश्वर गाउँपालिकामा रु १२ लाख २० हजार, सिगास गाउँपालिकामा रु १५ लाख ८० हजार, डिलाशैनी गाउँपालिकामा रु १५ लाख ४० हजार र सुर्नया गाउँपालिकामा रु ११ लाख ९० हजार राहत रकम पठाएको छ ।

प्रदेश सरकारले राहत वितरणसम्बन्धी कार्यविधिसमेत ल्याइसकेको र सोही कार्यविधिअनुसार राहत रकम वितरण हुने जनाइएको छ । स्थानीय तहले पनि स्थानीयस्तरमा राहत वितरण गर्दै आएका छन् । प्रदेश सरकारले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा रकम पठाइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्