सर्लाहीमा दिल्लीबाट आएका १४ वर्षे बालकको आरडीटी रिपोर्ट ‘पोजेटिभ’



०६ वैशाख २०७७, काठमाडौं

सर्लाहीमा हालसम्म र्‍यापीड डायग्नोस्टिक टेस्ट् (आरडीटी) ६६ जनामा गरिएको छ ।

जिल्लाको विभिन्न क्वारेन्टाइनमा बसेका ६६ जनाको आरडीटी टेष्ट गर्दा ६५ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ रिपोर्ट आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।

सर्लाहीको धनकौल गाउँपालिका ५ हरकठबाको क्वारेन्टाइनमा रहेका एक १४ वर्षीय बालकलाई शुक्रबार साँझ आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए ।

आरडीटी टेष्टमा कोरोना पोजेटिभ देखिए पनि अहिले नै संक्रमित भन्न नमिल्ने र पीसीआर टेष्टपश्चात मात्र कोरोना संक्रमणबारे निर्क्योल हुने प्रजिअ जिसीले बताए ।

प्रजिअ जिसीका अनुसार उक्त बालकको थप परिक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ । उनीसँगै क्वारेन्टाइनमा रहेका एक अर्का व्यक्तिलाई ¥यापिड टेस्ट् गर्दा नेगेटिभ देखिए पनि उनलाई पनि जनकपुर पठाइएको जिसीले जानकारी दिए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्