‘लकडाउन्’ पालना गराउने नाममा गरिएको कुटपिटले स्वास्थ्यकर्मीको मनोबल घट्छ : राष्ट्रिय मानव अधिकार आयोग



०५ वैशाख २०७७, काठमाडौं

‘लकडाउन्’ पालना गराउने नाममा भएको कुटपिटले स्वास्थ्यकर्मीको मनोबल गिर्ने अवस्था सिर्जना भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको छ ।

गत बुधबार ड्युटी सकेर फर्किँदै गरेका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकद्धय डा. शम्भु खनाल, डा. तेजप्रकाश शर्मा र डा. विकास शाहमाथि प्रहरीले कुटपिट गरेको थियो ।

घटनालगत्तै विभिन्न पेसागत संगठनसँग मिलेर अनुगमन गरेको आयोगले चिकित्सकमाथि दुर्व्यवहार भएको निष्कर्ष निकालेको हो । सुनसरीमा पनि स्वास्थ्यकर्मीमाथि प्रहरीद्वारा कुटपिट भएको थियो ।

आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीका एकपछि अर्का यस्ता हर्कतले स्वास्थ्यकर्मीको मनोबल खस्किने अवस्था सिर्जना भएको छ ।’

आयोगले कार्यशैली सुधार्न प्रहरीलाई आग्रह गरेको छ । औषधि खरिददेखि अन्य अत्यावश्यक प्रयोजनका लागि घरबाट निस्किएका सप्तरी, दार्चुला, बैतडीलगायतका सर्वसाधारणमाथि पनि प्रहरीद्वारा दुर्व्यवहार भएको छ ।

प्रतिक्रिया दिनुहोस्