कोभिड–१९ले ऊर्जा क्षेत्रमा पुर्‍याएको प्रभाव : नेपालसहित चार मुलुकका सचिवबीच छलफल



०५ वैशाख २०७७, काठमाडौं

नेपाल, भारत, बंगलादेश र भुटानका ऊर्जा सचिवहरुबीच कोरोना भाइरस (कोभिड–१९) का कारण ऊर्जा उत्पादन, माग र वितरणमा भोग्नुपरेका समस्याबारे छलफल भएको छ ।

नलाइन (भर्चुअल) मिटिङमा कोभिड–१९ पछिको अवस्थाको समीक्षा तथा एकअर्काका समस्या र नियन्त्रणको प्रयासका बारेमा कुराकानी भएको हो ।

बैठकमा कोभिड–१९ ले ऊर्जा क्षेत्रमा पारेको नकारात्मक प्रभाव, विद्युतको माग र आपूर्तिको सन्तुलन, निर्माणाधीन आयोजनाका काम तथा समस्या समाधानको उपायबारे छलफल भएको नेपालका ऊर्जा सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए ।

सचिव घिमिरेले भारतीय समकक्षी संजिव नन्दन सहायलाई बुटवल–गोरखपुर ४ सय केभी प्रसारण लाइन निर्माणका लागि यसअघि भएको संयुक्त कम्पनी खडा गर्ने प्रक्रिया अगाडि बढाउन आग्रह गरे ।

त्यसका लागि ‘शेयर होल्डर’ एग्रिमेन्ट छिट्टै गर्नुपर्ने सचिव घिमिरेको प्रस्ताव थियो । जवाफमा भारतका सचिव सहायले आफूहरु सकारात्मक रहेको भन्दै त्यसका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

सचिव घिमिरेले विद्युत व्यापारका लागि नेपाल–भारत–बंगलादेशको त्रिपक्षीय संयन्त्रको बैठकको पनि प्रस्ताव गरेका छन् । सचिव बैठकमा भारत, बंगलादेश र भुटानले पनि नेपालकै जस्ता समस्या राखेको सचिव घिमिरेले बताए ।

ती देशमा पनि लकडाउनका कारण निर्माणाधीन आयोजनाका काम ठप्प भएको, उद्योगभन्दा ठप्प हुँदा विद्युतको माग ह्वात्तै घटेको जस्ता समस्या सचिवहरुले सुनाएको घिमिरेले जानकारी दिए ।

|तस्वीरमा सचिव घिमिरे। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्