सर्वोच्चले भन्यो, ‘अलपत्र नागरिकको उद्धार गर’



०५ वैशाख २०७७, काठमाडौं

सर्वोच्च अदालतले कोभिड १९ (कोरोना भाइरस)का कारण जोखिममा परेका वैदेशिक रोजगारीमा गएका नेपालीको उद्धार र राहतका लागि कूटनीतिक माध्यमबाट तत्काल पहल गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चले जोखिममा फसेका नागरिकलाई सर्त–बन्देजसहित फिर्ता ल्याउने पहल गर्नसमेत बिहीबार (हिजो) भनेको छ । सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले उक्त अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले यस्तो महामारीको अवस्थामा वैदेशिक रोजगारीमा गएका नागरिकको हकमा तत्कालै पर्याप्त र प्रभावकारी प्रयास थाल्न आवश्यक देखिएको आदेशमा उल्लेख छ ।

राज्यले टुलुटुल हेरेर बस्न नहुने भन्दै सर्वोच्चले सरकारलाई सजगसमेत गराएको छ । वैदेशिक रोजगारीमा गएर मुलुकको अर्थतन्त्रमा ठूलो टेवा दिएको तर अहिले रोजगारसमेत गुमाइ अत्यन्त जोखिम, अस्वस्थ, असुरक्षित अवस्थामा रही नागरिकको जीवनको हक, स्वास्थ्यको हक, आफ्नो मुलुकमा फर्कन पाउने हक तथा उद्धारको हकबाट बञ्चित हुनुपरेको भन्दै अधिवक्ता सोमप्रसाद लुइँटेललगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चले विदेशमा जोखिममा रहेका नागरिकलाई अनियन्त्रित र अव्यवस्थित रूपमा नेपाल ल्याउँदा थप जोखिम हुने कुरालाई मध्यनजर गर्दै अलपत्र परेका नागरिकको उद्धारमा ध्यान दिन भनेको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्