शैक्षिक संस्था १५ जेष्ठभन्दा अगाडि नखुल्ने



०४ वैशाख २०७७, काठमाडौं

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण प्रभावित भएको शैक्षिक संस्थाहरु जेठ १५ अघि नखुल्ने भएको छ ।

अरु जस्तै शैक्षिक क्षेत्र पनि कारोना कारण प्रभावित भएका कारण विद्यालय खुलेर पढाइ सुरु हुन थप समय लाग्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा रोकिएको छ भने एक कक्षा १–९ को वार्षिक परीक्षा सम्पनन भए पनि नतिजा सार्वजनिक गर्न सकिएको छैन ।

यससँगै नयाँ शैक्षिक सत्र पनि ढिलो मात्र सुरु हुने पक्का भएको छ । लकडाउन खोलेको एक सातामा रिजल्ट प्रकाशित गर्ने तथा भर्ना र पाठ्यपुस्तकको व्यवस्था गर्न स्कुलहरुलाई २० देखि ३० दिन लाग्ने भएकाले चाँडै विद्यलाय सञ्चालन गर्ने अवस्था नरहेको बताइएको छ ।

साथै, कारोनाको त्रास कहिलेसम्म रहन्छ भन्ने यकिन नभएकाले वैकल्पिक उपायबारे अध्ययन थालिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कक्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा लकडाउन खुलेको एक हप्ताभित्र सार्वजनिक गरिने छ ।

यसबारे शिक्षामन्त्री गिरिजामणि पोखरेलले बिहीबार सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीसँग भिडियो संवाद गर्नुभएको थियो । प्रदेश मन्त्रीहरूले पनि एक हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने बताएका थिए ।

यता, शिक्षाविद्हरुले भने एक महिनासम्म परीक्षाको नतिजा रोकिँदा विद्यार्थीमा बेचैनी बढेको बताएका छन् । शिक्षाविद् डा. मनप्रसाद वाग्लेले सामाजिक दुरी कायम राखेरै परीक्षाको नतिजा सार्वजनिक गर्न पनि सकिने बताएका छन् ।

|फाइल तस्वीर|

 

प्रतिक्रिया दिनुहोस्