
०४ वैशाख २०७७, काठमाडौं
अस्पतालबाट बिरामीहरुको सेवा गरेर फकिँदै गरेका तीन जना चिकित्सक प्रहरीबाट कुटिएका छन् ।
त्रिवि शिक्षण अस्पतालका डा. तेज प्रसाद शाह, डा. शम्भु खनाल र कान्ति बाल अस्पतालका डा. विकास शाहमाथि बुधबार (हिजो) राति प्रहरीले हातपात कुटपिट गरेको हो ।
आफूहरु अस्पतालको ड्युटीबाट फर्किएको भन्दाभन्दै पनि प्रहरीले लाठीचार्ज गरेको पीडित चिकित्सकमध्येका एक जना डा शम्भु खनाल बताउँछन् । भ्यानबाट आउँदै गरेका प्रहरीले अस्पतालको आइडीकार्ड देखाउँदा देखाउँदै पनि आफूहरुमाथि हातपात गरेको उनीहरुको भनाइ छ ।
“कोरोना भाइरसको संक्रमण जारी रहेका बेला हामी अहोरात्र खटिनुपर्ने अवस्था छ । तर हामी प्रहरीबाट समेत असुरक्षित भयौं ।” उनीहरुले भने । यसैबीच नेसनल रेसिडेन्ट डक्टर्स एसोसिएसनले चिकित्सकमाथि भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तिमा छानविन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ । कारबाही प्रक्रिया अगाडि नबढाए कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ ।
|तस्वीरमा कुटिएका चिकित्सक। श्रोतः|





