काहालीलाग्दो बन्यो अमेरिका, अस्पतालका कोठादेखि पार्किङ स्थलसम्मै शव



०३ बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४९ जना बढीले जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २५ हजार ९ सय ८९ पुगेको छ ।

एकैदिन २५ हजार ३ सय बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख १२ हजार ३ सय बढी पुगेको छ । संक्रमितमध्ये १३ हजार ४ सय ७३ जनाको अवस्था गम्भीर रहेको छ भने ३८ जना ७ सय २१ जना संक्रमित उपचारपछि निको भएका छन् ।

केही हप्ता पहिले इटालीको अवस्था यस्तै भयावह थियो । सामाजिक सञ्जालमा इटालीमा शव व्यवस्थापन गर्न नसकेर शव नै शवको लस्कर लगाइएका तस्वीरहरु समेत सार्वजनिक भएका थिए । इटालीमा हालसम्म ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ । यो अमेरिका पछि सबैभन्दा बढी हो ।

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गर्दा शव व्यवस्थापनमा पनि निकै समस्या देखिएको छ ।

अमेरिकाको डेट्रोइटस्थित सिनाई-ग्रेस अस्पतालको ईमरजेन्सी कक्षका कर्मचारीहरुबीच सेयर गरिएका केही तस्वीरलेले मन छिया छिया पार्छ ।

अस्पतालका खाली कोठा र पार्किङ स्थलमै  शव राखिएका छन् । सीएनएनले यी तस्वीर अस्पतालका कर्मचारीमार्फत प्राप्त गरेको जनाएको छ ।

अस्पतालका कर्मचारीहरूका अनुसार उनीहरूलाई अध्ययन र आराम गर्न छुट्याइएका कोठामा समेत मृतकको शव राख्‍ने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्