भीड हटाउन खोज्दा प्रहरीमाथि हातपात



२८ चैत्र २०७६, काठमाडौं

मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिकाअन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न आग्रह गर्दा प्रहरीमाथि हातपात भएको छ ।

मस्दिजमा एकै ठाँउमा सयौंको संख्यामा मुस्लिम जम्मा भएर नमाज पढिरहेको सूचनाका आधारमा गएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मुनमुन सिंहउपर मुस्लिम युवाहरुले हातपात गरेका हुन् ।

बिहीबार (हिजो) बेलुका ७ बजे मुस्लिमहरुको एक पर्वको अवसर भन्दै तेजापाकडस्थित एउटा मस्जिदमा एकै ठाँउमा २०० बढी मानिस नमाज पढिरहेका थिए ।

प्रहरी सहायक निरीक्षक सिंहले ‘लकडाउन्’ उल्लघंन नगर्न र भीड गर्दा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने भनी सम्झाइरहँदा केही युवाहरुले उनीमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय गौर र विभिन्न सशस्त्र प्रहरी बेसक्याम्पबाट ठूलो संख्यामा परिचालनपछि अवस्था सामान्य बनेको प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।

प्रहरीमाथि हातपात गरेका परोहा नपा–३ का २६ वर्षीय कलाम अन्सारी, सोही ठाँउका १७ वर्षीय साजिद अन्सारी र १६ वर्षीय लालुु अन्सारीलाई नियन्त्रणमा लिएको रौतहट प्रहरीले जनयो ।

अभियोग लागेका तीनै जना नियन्त्रणमा रहेको र घटनाको प्रक्रियाअनुसार मुद्दा चलाउने तयारी भइरहेको पनि प्रहरीले जनाएको छ ।

|तस्वीरमा नमाज पढ्दै मुस्लिमहरु। फाइल तस्वीर |

प्रतिक्रिया दिनुहोस्