विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८१ हजार ९९५ नाघ्यो, १४ लाख ३० हजारबढी संक्रमित, कुन देशमा कति ? (अपडेट)



२६ चैत्र २०७६, काठमाडौँ

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८१ हजार ९९५ बढी पुगेको छ । यो भाइरसको संक्रमण १४ लाख ३० हजार १३० बढीमा फैलिएको छ । संक्रमण फैलिएका मध्ये ३ लाख १ हजार ८२८ बढी स्वास्थ्यलाभ गरी अस्पतालबाट फर्किएका छन् । पछिल्लो २४ घण्टामा विश्वमा ८४ हजार ९४ जनामा कोरोनाको नयाँ संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी संक्रमण र मृत्यु अमेरिकामा देखिएको छ । अमेरिकामा १ हजार ९३४ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १२ हजार ८ सय ५ पुगेको छ । अमेरिकामा एकैदिन २८ हजार ७ सय ३५ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ९५ हजार ७ सय ३९ पुगेको छ ।संक्रमितमध्ये २१ हजार ६७४ जना उपचारपछि निको भएका छन् । ९ हजार १ सइ ६९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

त्यस्तै दोस्रो धेरै संक्रमित भएको स्पेनमा १ लाख ४१ हजार ९४२ जना संक्रमित छन् । पछिल्लो २४ घण्टामा ७०४ जनाको मृत्यु भएको छ भने ५ हजार २६७ जनामा संक्रमण देखिएको छ । योसँगै स्पेनमा ज्यान गुमाउनेको संख्या १४ हजार ४५ पुगेको छ ।

सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । इटालीमा ज्यान गुमाउनेको संख्या १७ हजार १२७ पुगेको छ । यो २४ घण्टामा इटालीका ६०४ कोरोना संक्रमितको मृत्यु भएको छ । इटालीमा १ लाख ३५ हजार ५८६ जनामा कोरोना संक्रमण छ ।

त्यस्तै फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ४१७ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १० हजार ३२८ पुगेको छ । अहिलेसम्म फ्रान्समा १ लाख ९ हजार ६९ जना संक्रमित छन् ।

भारतमा पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५० पुगेको छ । एकैदिन ५ सय ३३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ हजार ३३१ पुगेको छ । संक्रमितमध्ये ४२१ जना उपचारपछि निको भएका छन् । ४ हजार ७७० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा महामारी फैलिएको चीनमा नयाँ संक्रमण र मृत्यु देखिएको छैन । चीनमा अहिलेसम्म ३ हजार ३३१ जनाले ज्यान गुमाएका छन् भने ८१ हजार ७४० जना संक्रमित छन् । जसमध्ये ७७ हजार १६७ जना उपचारपछि घर फर्किएका छन् । अहिले १ हजार २४२ जना विभिन्न अस्पतालमा उपचाररत छन् । २११ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्