त्रिविको होस्टलमा रहेका ९० भन्दा बढी विद्यार्थीलाई सगरमाथा प्रतिभा प्रतिष्ठानद्वारा राहत वितरण



२३ चैत्र २०७६, काठमाडौं

सगरमाथा प्रतिभा प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालयको होस्टलमा रहेका करिब ९० जनाभन्दा बढी विद्यार्थीसँगै केही सुरक्षा गार्डहरुलाई राहत उपलब्ध गराएको छ ।

प्रतिष्ठानले विश्वव्यापी रुपमा कोभिड १९ (कोरोना भाइरस)ले निम्त्याएको सन्त्रासका कारण मुलुकमा लगाइएको ‘लकडाउन्’को चपेटामा परी घर जान नपाएका डोटी, बाजुरा, कैलाली, हुम्ला, जुम्लालगायतका टाढा घर भएका विद्यार्थीहरुलाई शनिबार (हिजो) राहत उपलब्ध गराएको हो ।

विद्यार्थीहरुको आफूसँग पैसा पनि नभएको, घरबाट खर्च माग्ने अवस्था नभएको तथा मेससमेत बन्द रहेको खबर पाएपछि आफूसँगै प्रतिष्ठानका संस्थापक प्रस्तावक बलबहादुर थापा, कोषाध्यक्ष लक्ष्मी बस्नेत, अन्य सदस्यहरुसमेतको उपस्थितिमा विद्यार्थीहरुलाई चामल, दाल, चिउरा, नुनलगायतका खाद्यान्न सामग्रीहरु उपलब्ध गराएको प्रतिष्ठानकी अध्यक्ष डा. रेणुका सोलुले जानकारी दिइन् ।

यस्तै उनले सबै नागरिक यहीको भएकोले उनीहरुलाई राज्यले हेर्नुपर्ने बताइन् । “उनीहरु सबै यहीकै नै हुन् । अहिलेको जटिल अवस्थामा सबै तह र तप्कामा रहेका सरकारी निकायले संरक्षण दिन जरुरी हुन्छ । यो राज्यको नागरिकप्रतिको दायित्व हो ।” अध्यक्ष सोलुले परिवर्तन खबरसँग भनिन्, ‘तर, दुर्भाग्य यहाँ सरकारी संयन्त्रनै विवाद नै विवादमा फस्ने काममा अल्मलिएको छ ।’

यसैगरी उनले मुलुकको यस्तो अवस्थामा नागरिकको बाँच्न पाउने अधिकार ओझेलमा पर्न दिन नहुने पनि बताइन् । विद्यार्थीहरुले राहत पाएपछि खुशी हुँदै आफूहरुलाई ठूलो सहयोग भएको बताए ।

प्रतिष्ठानले यस्तै आपत्-विपत्मा परेकालाई सहयोगी हातहरू जुटाउँदै सहयोग गर्दै आएको छ ।

|तस्वीरमा राहत वितरण गर्दै प्रतिष्ठान। सौजन्यः प्रतिष्ठानकी अध्यक्ष सोलु|

प्रतिक्रिया दिनुहोस्