कोरोना महामारी : चीनको सेन्जेनमा कुकुर र बिरालाको मासु खान प्रतिबन्ध



२१ चैत्र २०७६, काठमाडौं

चीनको सेन्जेन शहरमा कुकुर तथा बिरालोको मासु खान प्रतिबन्ध लगाइएको छ ।

योसँगै सेन्जेन कुकुर बिरालोको मासुलाई प्रतिबन्ध लगाउने चीनको पहिलो शहर बनेको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै सहर प्रशासनले यस्तो कदम चालेको हो ।

हाल आतंक मच्चाइरहेको कोरोना भाइरसको उत्पत्तिको खास स्रोत अहिलेसम्म पनि पत्ता नलागेको भएतापनि जंगली जनावरको मासु खाँदा जनावरबाट मानिसमा भाइरस सरेको अनुमान गरिएको छ ।

अझ कोरोना भाइरसको उद्गमस्थलको रूपमा रहेको वुहान सहरस्थित जंगली जनावरहरूको मासु बेच्ने बजारबाटै कोरोना भाइरस फैलिएपछि त्यसले चिनियाँहरूको खानपानप्रति मानिसहरूको नकारात्मक टिप्पणी बढेको थियो ।

त्योसँगै चीनले फेब्रुअरी महिनामा जंगली जनावरको व्यापार तथा जंगली जनावरको मासु सेवनमा प्रतिबन्ध लगाइसकेको थियो । तर, सेन्जेन सहरले त्योभन्दा एक कदम अघि बढ्दै कुकुर र बिरालोको मासुमा पनि प्रतिबन्ध लगाएको हो ।

एक रिपोर्ट अनुसार, एसियाली देशहरूमा मासुकै लागि हरेक वर्ष तीन करोड कुकुर मारिन्छन् । चीनमा मात्रै बर्सेनी एक करोड कुकुर र ४० लाख बिरालोहरू मासुकै लागि मारिन्छन् । –बीबीसी

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्