
२० चैत्र २०७६, काठमाडौं
सीमामा अलपत्र परेका नेपालीलाई स्वदेश प्रवेशमा रोक नलगाउन राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ ।
सीमामा अलपत्र परेका नेपालीको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले नागरिकको सुरक्षा र आधारभूत मानव अधिकारको सम्मान र संरक्षण गर्नु सरकारको प्रमुख दायित्व भएको बताएको छ।
आयोगले आज (बिहीबार) विज्ञप्ति जारी गर्दै विदेशमा रोजगारी, गास र बासको समस्या भई घर फर्केका नेपालीहरूको आवश्यक स्वास्थ्य परीक्षण गरी निश्चित मापदण्ड अनुरुप स्वदेशभित्रै बस्न पाउने वातावरण सिर्जना गर्न आयोग सरकारलाई आग्रह गरेको छ ।
संकट र सन्त्रासको परिस्थितिमा नागरिकका सबै अधिकारहरू सामान्य अवस्थामा अझैं निर्वाध रूपमा प्रचलन हुन कठिन हुनै भए ता पनि संविधान र कानुनले व्यवस्था गरेका आधारभूत अधिकारहरूको प्रचलनमा सरकार गम्भीर हुनुपर्ने आयोगले औंल्याएको छ ।
हालको विषम परिस्थितिमा नेपालको संविधानको धारा ५२ तथा नेपाल पक्ष राष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी महासन्धि, १९६६ को धारा १२ (२) र ४ को सम्मान गर्न गर्न आयोगले सरकारलाई आग्रह गरेको छ ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा २९ र नेपालको संविधानको धारा ४८ बमोजिम नागरिकहरूले पनि आफ्नो कर्तव्य पूरा गरी सरकारबाट तोकिएका मापदण्डहरूको पालना गर्न पनि आयोगले अनुरोध गरेको छ ।
विज्ञप्ति

|तस्वीरमा मानव अधिकार आयोगको कार्यालय। फाइल तस्वीर|





