सीमामा अलपत्र नेपालीहरु रातारात महाकाली तरेर नेपाल भित्रिँदै



१९ चैत्र २०७६, काठमाडौं

भारतबाट स्वदेश फर्किएका नेपालीहरु नेपाल प्रवेश गर्न नपाएपछि सीमा नाकामा अलपत्र परेका छन् ।

सरकारले सुरक्षित रूपमा घर फर्काउन चासो नदिएपछि उनीहरू ज्यानको बाजी थापेर रातारात महाकाली नदी तर्दै स्वदेश भित्रिन थालेका छन् ।

दार्चुलापारिको भारतीय बजार धार्चुलामा जम्मा भएका सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिक आइतबारदेखि महाकालीमा पौडी खेलेर, महँगोमा ट्युबबाट तारी मागेर आइरहेका छन् ।

पारिबाट सोमबार राति मात्रै ५० जनाभन्दा बढी ट्युबबाट नेपाल छिरेको स्थानीयले बताएका छन् । भारतको उत्तराखण्ड राज्यको कुमाउ, गढवालमा मजदुरी गरिरहेका नेपाली कोरोना त्रासका कारण फर्किन लाग्दा सीमामा अलपत्र परेका हुन्।

त्यसमा दार्चुला, बैतडी, बझाङ, बाजुरा, डडेलधुरा, डोटी, अछाम, कैलाली, कञ्चनपुर, बाँके, सुर्खेत, कालिकोट र बर्दियाका बासिन्दा छन् । कोरोना संक्रमण देखिएको भारतीय सहरबाट महाकाली तरेर आउनेहरू बिनाजाँच गाउँ पस्दा जोखिम बढेको छ ।

दार्चुलाका नौ स्थानीय तहले भरपर्दो क्वारेन्टाइन व्यवस्थापन गर्न नसक्दा दुःख पाएको उनीहरूले बताएका छन्। महाकाली तरेर रातारात नेपाल आउनेको संख्या झन्डै २ सय नाघेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

महाकालीको तीरै तीर रातभर सुरक्षाकर्मी खटाउन सक्ने अवस्था नभएको उनको भनाई छ ।

|तस्वीरमा भारतीय नाकाबाट नेपालतर्फ लाग्दै। श्रोत|

प्रतिक्रिया दिनुहोस्