कोरोना सर्ने भन्दै नर्सलाई डेराबाट निकालेको आरोपमा घरधनी पक्राउ



१९ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)सर्ने भन्दै नर्सलाई डेराबाट निकालेको आरोपमा दाङको घोराही उपमहानगरपालिका २ का वडासचिव नारायण आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घोराही १८ नवलपुरस्थित आफ्नो घरमा डेरामा बस्दै आएकी तुलसीपुर उपमहानगरपालिका १६ गणेशपुरकी नर्स सिर्जना खड्कालाई निकालेको आरोपमा उनलाई पक्राउ गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

दाङका प्रहरी प्रवक्ता सुमित खड्काका अनुसार आरोपबारे अनुसन्धानको क्रम जारी रहेको छ । उनका अनुसार वडा सचिव आचार्यले आरोप अस्वीकार पनि गरिसकेका छन् ।

घरधनी आचार्यकाअनुसार नर्स खड्का पहिले रोल्पाका दुई किशोरी बस्ने कोठामा सँगै बस्न आएकी थिइन् । पछि ती किशोरी कोठा छाडेर गएपछि नर्स एक्लै बस्न थालेकी थिइन् ।

त्यसपछि पछि आएर घरधनीले उनलाई निकाल्ने कुरा गरेको बताए । ‘मितीलाई मैले कोठा दिएको होइन । रोल्पाली किशोरीहरुलाई पो दिएको हुँ ।’ भनेर कोठा खाली गर्न लगाएको भन्ने दावी आरोपीआरोपीको भएको डीएसपी खड्काले भने ।

यसअघि प्रमुख जिल्ला अधिकारी रिजालले प्रेस विज्ञप्ति निकालेर केही घरधनीहरुले स्वास्थ्यकर्मीलाई घरबाट निस्किन भनेको सुन्नमा आएको भन्दै यदि त्यसो गरिए कारबाही गर्ने चेतावनी दिएका थिए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्