‘लकडाउन्’ उल्लघंन गरेको भन्दै दुई युवकलाई गोद्ने सशस्त्र प्रहरी हवल्दार निलम्बनमा



१८ चैत्र २०७६, काठमाडौं

नेपाल–भारत सीमा नाका बन्द र ‘लकडाउन्’का समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी पदबाट निलम्बित भएका छन् ।

सप्तरीको बलान बिहुल गाउँपालिका ३ का युवकलाई सशस्त्र प्रहरीले निर्ममतापूर्वक कुटेको भिडिओ सामाजिक सञ्जालमा यत्रतत्र भएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट् रामनगर कोदरकट्टी सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हवल्दार मनोज चौधरी निलम्बित भएका हुन् ।

कोभिड १९ (कोरोना संमक्रमण) रोकथामका लागि खटिरहेको सशस्त्र प्रहरी बल देश र देशवासीको सुरक्षाका लागि खटिरहेको बताउँदै सशस्त्र प्रहरी बल ६ नम्बर गणका सशस्त्र एसपी उद्धव न्यौपानेले आरोपित चौधरीलाई तत्काल निलम्बन गरिएको बताए ।
⇒ सशस्त्र प्रहरीले लौरो भाँचिने गरी गरेको कुटपिटको विषयमाथि कारबाही शुरु
आदेश विपरीत सर्वसाधारणलाई कुटेको आरोपमा चौधरीलाई निलम्बन गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको एसपी न्यौपानेको भनाइ छ ।

‘लकडाउन्’ उल्लघंन गरेको आरोपमा बलान बिहुल ३ मौवाहाका हरेकृष्ण शाह र चन्द्र यादवलाई बलान बिहुल गाउँपालिकाको दजशगजा क्षेत्रमा फेला पारी सशस्त्र प्रहरी हवल्दार चौधरीले कुटपिट गरेका थिए ।

कुटपिटको उक्त भिडिओ सार्वजनिक भएपछि सशस्त्र प्रहरी बल, नेपाल हल्चोकले छानविन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्