हट्यो वुहानको ‘लकडाउन्’, चल्न थाल्यो भोज भतेर



१८ चैत्र २०७६, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोभिड १९ (कोरोना भाइरस) अहिले विश्वका करिब २ सय वटा देशहरुमा फैलिसकेको छ ।

विश्वभर अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७ हजार कटिसकेको छ । यसैगरी संक्रमितको संख्या ७ लाख ८५ हजार नाघेको छ ।

तर कोरोनाको उद्गमस्थल चीनको वुहानमा भने कोरोना आतंकको अन्त्य भएको छ । योसँगै त्यहाँ लगाइएको ‘लकडाउन्’ फुकुवा गरिएको छ ।

यो फुकुवासँगै आम–सर्वसाधारण घातक कोरोनामाथिको विजय प्राप्त गर्न सकिएको भन्दै खुशीयाली मनाइरहेका छन् ।

अहिले त्यहाँ भोजभतेरको क्रम चलेको छ । यससँगै त्यहाँ चेमेरो, हाँस, सर्पलगायतका अन्य मासु विक्री गर्ने पसलहरु खुल्न थालेका छन् ।

अन्तर्राष्ट्रिय समाचार पत्र ‘डेली मेल’का अनुसार कोरोनामाथि विजय प्राप्त गरेको खुशीयालीमा वुहानमा खरायो र हाँसको मासु खाएर पार्टी शुरु हुन थालेको छ ।

पार्टीका क्रममा सयौं कुकुर, बिरालो, हाँस, खरायोलगायतका मासु खाइने जनावहरु काटिएका छन् ।

कतिपय घरका छानाहरु रगतले रातै देखिएका छन् । ‘डेली मेल’ले लेखेअनुसार पार्टी चलिरहेका केही स्थान नजिक मृत जनावरका अवशेषहरु पनि भेटिएका छन् । विश्वका वैज्ञानिक तथा विज्ञ चिकित्सकहरुले कोरोना संक्रमण चमेरो र सालकबाट शुरु भएको तर्क अघि सार्दै आएका छन् ।

यसका बावजुद पनि वुहानमा तीन महिनापछि डुङ् डुङ् गन्ध आउने मासु बजार पुनः सञ्चालनमा आएको छ ।

चीनको वुहानस्थित गुईलिन क्षेत्रभित्र सुरक्षाकर्मीको तैनाथी यसअघि हुने थिएन । तर, अहिले तस्वीर खिच्न रोक लगाउन चौबिसै घण्टा सुरक्षाकर्मी तैनाथ गरिएको मेलले जनाएको छ ।-एजेन्सीको सहयोगमा

|तस्वीरमा वुहान। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्