प्रहरीले सर्वसाधारणलाई काँधमा सिलिण्डर बोकाएर बसाएको घटनाबारे छानविन शुरु



१६ चैत्र २०७६, काठमाडौं

ड्यूटीमा बसेकी एक महिला प्रहरीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको घटनाबारे प्रहरी प्रधान कार्यालयले छानविन शुरु गरेको छ ।

सामाजिक सञ्जालनमा महिला प्रहरीको उक्त व्यवहारको चर्को आलोचना भएपछि छानविन शुरु गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सर्वसाधारणको चुल्होसँग जोडिएका समस्यामा ड्यूटीमा खटिएकी महिला प्रहरी असहिष्णु बनेको भन्दै उक्त तस्वीर अहिले सामाजिक सञ्जालभरि छरपस्ट भएको छ ।

सडकमा अमानवीय तवरले कारबाही गर्ने ती प्रहरीले ‘कोभिड–१९’को स्लोगन लेखिएको प्लेकार्ड समेत बोकेकी छिन् । तर, उनको पहिचान र ठाउँ भने खुल्न सकेको छैन ।

“सामाजिक सञ्जालमा प्रहरी कर्मचारीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको सम्बन्धमा सबैबाट प्राप्त भएको सुझाव, गुनासोलाई प्रहरी प्रधान कार्यालयले गम्भिरताका साथ लिएको र आवश्यक छानबिन भइरहेको जानकारी गराउँदछौं ।” प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जाल फेसबूकमा समेत लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्