१५ चैत्र २०७६, काठमाडौं
बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी बाग्लुङकी कोरोना संक्रमित युवती काठमाडौं आइपुगेको अर्को दिन माइक्रो चढेर बाग्लुङ पुगेकी खुलेको छ।
बाग्लुङ नगरपालिकाकी वासिन्दा उनी गत ४ चैत्रमा कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट काठमाडौं आएकी थिइन् ।
घर गएको दुई तीनपछि उनलाई ज्वरो आएको बुझिएको छ । बाग्लुङ नगरपालिकाका मेयर जनकराज पौडेलका अनुसार ज्वरो आएपछि उनी धौलागिरि अञ्चल अस्पतालमा जचाउन गएकी थिइन् ।
तर अस्पतालमा उनले आफू बाहिरबाट आएको भने जानकारी दिएकी थिइनन् । चिकित्सकहरूले सामान्य ज्वरो आएको भन्दै घर पठाइदिएका थिए ।
“उहाँ आएको जहाजमा आएकी युवतीलाई कोरोना देखिएपछि त्यो फ्लाइटका सबैको नाम सार्वजनिक भयो । हाम्रो नगरपालिकामा पनि उहाँको नाम देखेपछि घरमै गएर स्वाब संकलन गरिएको हो ।” मेयर पौडेलले भनेका छन् ।
चार दिनअघि परीक्षणका लागि स्वाब पठाइएकी युवती अहिले पनि घरमै रहेको मेयर पौडेलले बताए । उनलाई चाँडै काठमाडौं ल्याइने बताइएको छ ।
|फाइल तस्वीर|