कोरोना भाइरस र बच्ने उपाय



१५ चैत २०७६, काठमाडौं/तिलोत्तम पौडेल

२०१९ डिसेम्बरबाट चीनमा देखा परी संक्रमित हुँदै महामारीको रूपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम, नियन्त्रण तथा नेपालमा यसको प्रभाव फैलन नदिन तथा संक्रमित व्यक्तिहरूको निगरानी र उपचारको समेत व्यवस्था मिलाउने कार्यमा हामी सबै नागरिकको महत्वपूर्ण भूमिका हुन्छ ।

विश्वभर महामारीका रूपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि आ–आफ्नो तर्फबाट गर्नुपर्ने कार्यका सम्बन्धमा नेपाल सरकारले विभिन्न निर्णयहरू गरी सार्वजनिक गरिसकेको छ । सरकारले गरेको निर्णय कार्यान्व्यनमा सम्पूर्ण सर्वसाधारण लगायत सबैले सहयोग गर्नु हाम्रो दायित्व हो ।

नोबेल कोरोना भाइरसका मुख्य लक्षणहरूः ज्वरो (१००.४ं F भन्दा माथि), श्वास प्रस्वासमा अत्याधिक समस्या, रुघा र खोकी भएको कुरा विज्ञहरूले बताउँदै आएका छन् ।

कोरोना भाइरसबाट बच्न नोबेल कोरोना भाइरस प्रभावित देशहरूबाट आउने मानिसहरूमा दुई हप्ता भित्र रुघाखोकी लागेमा, ज्वरो आएमा, घाँटी/टाउँको दुखेमा, स्वासप्रस्वासमा अत्यधिक समस्या भएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ । सरसफाईमा उचित ध्यान दिने, साबुन पानीले पटकपटक हात धुने र स्यानिटाइजर प्रयोग गर्ने र घर समाजको सरसफाईमा ध्यान दिनुपर्दछ ।

भिडभाडबाट टाढै रहनुहोस् । भिडभाड धूलो धुँवामा जाँदा माक्सको प्रयोग गर्ने र घरमा नै बसे सुरक्षित हुन सकिन्छ । जंगली तथा घरपालुवा पशुपन्छीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहनु पर्दछ । खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्नु पर्दछ । फ्लु जस्तो लक्षण देखिएका जो कोहीको सम्पर्कबाट टाढा रहने कुरामा विशेष ध्यान दिनुपर्दछ । पशुजन्य मासु तथा अन्डा राम्रोसँग पकाएर मात्र खाने गर्नुपर्दछ । बालबालिका, किशोरी, गर्भवती महिला, जेष्ठनागरिक, बालगृहमा, आश्रममा रहेका, अपाङ्गता भएका, नियमित उपचार गराई औषधि सेवन गरिराखेकाहरूलाई विशेष ध्यान दिनु जरुरी छ । कसैलाई मनोवैज्ञानिक असर पर्ने खालका  सूचनाबाट सचेत रहदै त्यस्ता सूचनालाई लाईक, कमेन्ट र सियर गर्ने कार्य गर्नु हुँदैन । नेपाल सरकारबाट प्राप्त आधिकारिक सूचना मात्र अरुलाई जानकारी गराउनु राम्रो हुन्छ । चिकित्सक, विज्ञ तथा प्राविधिकहरूको सल्लाहलाई पालना गर्न सकेमा रोगबाट बच्न सकिन्छ । विदाको समयमा बालबालिकालाई खाना, स्वास्थ्यमा ध्यान दिँदै उनीहरूको क्षमता अनुसार सुरक्षित ढङ्गबाट घरमा नै खेल, चित्र, अध्ययन आदिको माध्यमबाट धैर्यवान र सम्यमितता अपनाउनु पर्दछ ।

सचेत हुने हो तर आतङ्कित नभई बस्नु यसको मनोवैज्ञानिक उपचार हो । सम्भव भएसम्म घरगाउँमा नै उत्पादन भएको खानेकुराहरूमा जोड दिँदै विदेशमा रहेका नेपाली र उहाँका परिवारको बीचमा सही सूचना आदान–प्रदान गर्ने, समस्या परेमा विदेश स्थित दुतावासमा सम्पर्क गर्न, गराउन लगाउने कार्यतर्फ ध्यान दिनु जरुरी छ । राज्यले लक डाउन गरी घरमा नै बस्न आग्रह गरेको छ । सम्भावित जोखिमबाट जोगिन राज्यले गरेको पहल कदमीलाई सकारात्मक रूपमा सहयोग गर्नु हाम्रो दायित्व पनि हो । यस्तो समयमा नेपाल सरकार, स्वास्थ्यमन्त्रालय, विशेषत स्वास्थ्यकर्मी, सञ्चार कर्मी, सुरक्षा निकायले आफ्नो तर्फबाट योगदान पुर्‍याइरहेका छन् । उनीहरूको मनोबल घटाउने खालका समाचार, अभिव्यक्तिहरू आउनु हुँदैन । हाम्रो देशमा उपलब्ध भएका स्रोत तथा सामाग्रीहरू प्रयाप्त प्रयोग गर्दै थप स्रोत साधनको खोजी कार्यलाई तदारुकता साथ अघि बढाउनु जरुरी छ । शक्ति सम्पन्न राष्ट्र चिन, इटली, अमेरिका, स्पेनलाई समेत चुनौती दिएको कोरोना भाइरसबाट जोगिन घरबाहिर ननिस्केर अति आवश्यक सामाग्री सेवाको लागि राज्यबाट प्राप्त हटलाईन, टोल फ्रि नम्बरहरूबाट सेवा लिनुको विकल्प छैन । केही समय घरमा नै बसेर आफ्नो सीप, क्षमता र अनभुव अनुसार कामहरू गर्ने, ज्ञानबद्र्धक कुरा छलफल गर्ने, सजग हुने तर भयविद नहुने नै यसको औषधि हो । अरु देशको तुलनामा अझै पनि हामीलाई असर कम छ भनेर हेलचेक्राइ गर्नु हुँदैन । यसले भयानक रुपलिन पनि धेरै समय नलागेका उदाहरण विश्वका उच्च स्तरीय स्वास्थ्य सुविधा भएका देशहरूबाट प्रष्ट भएको छ । यो आफु र आफ्नो परिवारमा कोरना भाइरसको लक्षणहरू भएको देखेमा शंका लागेमा आफै क्वारेन्टाइनमा बस्ने र जटिल हुँदै गएको महसुस हुन थालेमा तुरुन्त अस्पतालमा सम्पर्क गर्ने हामी सबैको दायित्व हुन्छ । यस कार्यमा संघीय, प्रदेश र स्थानीय सरकारहरूले आ–आफ्नो तर्फबाट योजना बनाई काम गरिरहेका छन् । ती काम नागरिक संघसंगठन, युवाहरूले पनि आ–आफ्नो तर्फबाट योगदान पुर्‍याउँदै आएका छन् । तसर्थ हामी केही दिन घरमानै बसौँ, सुरक्षित रहौँ, सुरक्षित रहन सबैलाई अभिप्रेरित गर्न सक्यौँ भने मात्र हामी कोरोना भाइरसको महामारीबाट जोगिन सक्दछौँ ।

लेखक बालबालिका र युवाको क्षेत्रमा क्रियाशील व्यक्ति हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्