‘लकडाउन्’ उल्लंघन गर्ने १४२ पक्राउ, १४०० बढी सवारी कारबाहीमा



१३ चैत्र २०७६, काठमाडौं

सरकारले विगत तीन दिनदेखि लगाएको देशव्यापी ‘लकडाउन्’ उल्लघंन गर्ने १ सय ४२ जना पक्राउ परेका छन्।

कारोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमण फैलन नदिन सरकारले लगाएको ‘लकडाउन्’ उल्लंघन गर्नेहरु आज पक्राउ परेका हुन् ।

‘लकडाउन्’को तेस्रो दिन बिहीबार ७ वटै प्रदेशबाट १ सय ४२ जना पक्राउ परेका हुन् । ‘लकडाउन्’मा बिना अनुमति सवारी चलाउने १ हजार ४ सय १७ चालक पनि कारबाहीमा परेका छन् ।

अनुमति बिनै गुडेका सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यकाबाट १ जना पक्राउ र २ सय ५२ सवारी साधन नियन्त्रणमा लिइएको छ।

त्यसैगरी १ नम्बर प्रदेशबाट ५२ जना पक्राउ पर्नुका साथै २ सय ७३ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ । प्रदेश २ मा २ सय ८ सवारी र १६ जना मानिसलाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीका अनुसार वागमती प्रदेशमा १५ जना मानिस र १ सवारी साधन नियन्त्रणमा लिइएको छ । गण्डकी प्रदेशबाट प्रहरीले २ सय ७२ सवारी र १ जना सर्वसाधारलाई नियन्त्रणमा लिएको छ ।

५ नम्बर प्रदेशबाट १५ जना मानिस र २ सय १ सवारी, कर्णाली प्रदेशबाट २२ व्यक्ति र ७२ सवारी र सुदूरपश्चिम प्रदेशबाट २१ जना मानिस र १ सय ७७ वटा सवारी साधान नियन्त्रणमा लिइएको छ ।

पक्राउ परेका सबैलाई साँझ सचेत गराएर छाडिएको प्रहरीले जनाएको छ । सवारी साधन भने प्रहरी युनिटमै राखिएको छ ।

तस्वीरमा कारबाहीमा सवारी। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्