‘नोवेल प्राइज् होल्डर’ वैज्ञानिकको घोषणा : ‘कोरोना छिट्टै समाप्त हुँदैछ’



१३ चैत्र २०७६ काठमाडौं

नोवेल पुरस्कार विजेता तथा स्ट्यानफोर्ड बायोफिजिस्ट माइकल लेविटले कोभिड १९ (कोरोना भाइरस) असर कम हुँदै जाने बताएका छन्।

“अहिले पनि भनिएजस्तो भयावह छैन। हरेक क्षेत्रमा डर, त्रास, चिन्ताको वातावरण छ। उच्चतम अवस्थामा कोरोना भाइरसको असर पुगिसकेको छ।” लस एन्जलस टाइम्ससँगको कुराकानीमा माइकलले भनेका छन्, ‘अब यो विस्तारै कम हुँदै जाने छ।’

माइकलको भनाइलाई संसारभरबाट महत्वपूर्ण रुपमा हेरिएको छ। उनले चीनमा देखिएको कोरोना भाइरसको असरका विषयमा लगत्तै आफ्नो धारणा सार्वजनिक गरेका थिए।

उनले सार्वजनिक गरेको धारणा मिलेपछि अमेरिकी मिडियाले उनलाई पच्छाएका छन्। सयौं हेल्थ एक्सपर्टस्ले चीनले कोरोना भाइरस नियन्त्रणमा काम गर्न नसक्ने बताएका बेला उनले निश्चित समय नै तोकेर चीनले नियन्त्रण गर्ने बताएका थिए।

यो उनको धारणा अहिले सत्य सावित भएको छ। लेवितले फेब्रुअरी महिनामा लेखेका थिए, “चीनमा कोरोना भाइरसको संक्रमणमा गिरावट आएको छ। यसले के देखिन्छ भने अबका केही हप्तामा चीनमा कोरोना भाइरस नियन्त्रणमा आउँछ। मृत्युदरमा पनि अन्य देशभन्दा चीन पछि नै हुन्छ।”

पछि आएर उनको यो भविष्यवाणी सत्य सावित भएको छ। चीनले कोरोना भाइरसमा लगभग नियन्त्रण कामय गरिसकेको छ। वुहानमा सार्वजनिक गाडी चल्न थालेका छन्।

वास्तवमा लेविटले चीनमा झण्डै ३ हजार ३ सयको मृत्यु र ८० हजार संक्रमित हुने अनुमान लगाएका थिए। अहिले चीनमा मृत्यु हुनेको संख्या र संक्रमितको संख्या लगभग उस्तै छ।

लेविटले अब संसारभर चीनकै जस्तो अवस्था देखिरहेका छन्। ५० देशको डाटा विश्लेषण गर्दै उनले धेरै रिकभरीको संकेत प्रस्तुत गरेका छन्। उनले चीन र दक्षिण कोरियामा नयाँ संक्रमणदर कम हुँदै गएको बताएका छन्।

लेविट भन्छन्, ‘आंकडा अहिले उच्च तहमा पुगेको छ। वृद्धिदरको अनुपात हेर्दा अब कम हुँदै जान्छ।’ उनले टेस्टिङ नभएका कारणले धेरै संख्याका संक्रमित आउन बाँकी नै रहेको पनि बताएका छन्।

यस्तो अवस्थामा पनि अब विस्तारै कोरोना भाइरसको संक्रमण कम हुँदै जान्छ। लेविटको यो निष्कर्ष संसारभर उत्साह छर्ने एक महत्वपूर्ण तथ्य भएको छ।

उनले कोरोना भाइरसबाट लड्ने तरिका पनि चीनले अपनाएजस्तो सजिलो नभएको बताए। सामाजिक दूरी कायम गर्ने एउटा महत्वपूर्ण पक्ष भएको उनको भनाइ छ।

उनले एक ठाउँमा भेला नहुन, दूरी मेन्टन गर्न, परिवारका सदस्यबीचमा पनि दूरी कायम गर्न, भीडभाडका कार्यक्रम नगर्न र रोग प्रतिरोधात्मक क्षमता विकास गर्न सुझाव दिएका छन्।

कोरोना भाइरसविरुद्धको भ्याक्सिन बन्नका लागि महिनौंसम्म लाग्न सक्ने भन्दै उनले यस्तो बेलामा सडकमा निस्किने, साथीहरुसँग पार्टीमा जानेलगायतका घर बाहिरका काम बन्द गर्नुपर्नेमा जोड दिएका छन्।

लेविटले भनेका छन्, “लक्ष्यको नजिक पुग्नका लागि अनुशासन चाहिन्छ। त्यसका लागि लक्ष्य पहिचान गर्नुपर्छ। चीनले आइसोलेसन गरेरै सफलता प्राप्त गरेको हो। त्यो सबैका लागि ध्यान दिनुपर्ने र अनुसरण गर्नुपर्ने विषय हो।”

यस्तै इटालीमा संक्रमण धेरै देखिनुको कारण पनि उनले प्रष्ट पारे। ‘त्यहाँ भ्याक्सिनविरुद्धको भावनाले गर्दा ठूलो क्षति पुगेको छ। सामान्य फ्लूविरोधी भ्याक्सिन नलगाएका कारण यस्तो अवस्था आएको हो। फ्लूविरुद्धको भ्याक्सिन नलिएका व्यक्तिमा यो भाइरसको आक्रमण तीव्र हुन्छ।’ लेविटले भने।एजेन्सी

तस्वीरमा वैज्ञानिक लेविट। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्