
१३ चैत्र २०७६, काठमाडौं
काठमाडौं महानगरपालिकाले किटनाशक औषधि छर्किने कामलाई तीव्रता दिएको छ ।
सार्वजनिक स्थललाई किटाणुमुक्त बनाउन महानगरले किटनाशक औषधि छर्किने काम शुरु गरेको हो ।
यस क्रममा आज बिहान ३ वटा जेटले औषधि छरेका छन् । तीनवटामध्ये एउटा बबरमहल — बानेश्वर — तीनकुने — सिनामंगल क्षेत्रमा खटिएको थियो भने अर्को जमल — लाजिम्पाट — पानीपोखरीहुँदै महाराजगञ्ज क्षेत्रसम्म पुगेको थियो ।
अर्कोलाई बसन्तपुर आसपास क्षेत्रमा केन्द्रीत गरिएको थियो । नगर प्रहरी महाशाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाका अनुसार आज दिउँसोबाट महानगरका उपकरणसहित निजी क्षेत्रले सञ्चालनमा ल्याएका ट्यांकर परिचालन गरिएको छ ।
४० हजार लिटर पानीमा १४० लिटर क्लोरिन राखेर सार्वजनिक स्थलमा छर्किने आजको योजना रहेको नायव उपरीक्षक सापकोटाको भनाइ छ ।
बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामाग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म सेवालाई सहरभरि पु¥याउने रणनीतिका आधारमा काम भइरहेको बताइएको छ ।
हिजो वीर अस्पताल, टेकु अस्पतालसहित भित्रि सहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजारलगायतका स्थानमा कीटनाशक औषधि छर्किएको थियो ।
यससँगै बु्रमरको प्रयोगले सडक सफा गर्ने र पानीले पखाल्ने काम पनि भइरहेको महानरले जनाएको छ ।
तस्वीरमा किटनाशक छर्किँदै। फाइल तस्वीर।





