
०७ चैत्र २०७६, काठमाडौं
सरकारले वुधबार कोरोना भाइरसबाट जोगिन भन्दै स्कुल, कलेज, सिनेमा घर, रंगशालालगायतका मानिस बढी भेला हुने स्थान बन्द गर्न निर्देशन दिएलगत्तै राजधानीबाट बाहिरिनेको संख्या उत्तिकै बढेको छ।
सरकारले एक महिनाको लागि स्कुल, कलेज बन्द गर्न निर्देशन दिएको हो।
पछिल्लो समय विश्वभरी कोरोना भाइरसको सन्त्रास छ। एक महिना स्कुल, कलेज बन्द भएपश्चात् अध्ययनका लागि काठमाडौँ बस्ने विद्यार्थीहरु धमाधम घर फर्किन लागेका छन्।
त्यस्तै, रोजगारीका क्रममा काठमाडौँ बस्ने अभिभावकहरु पनि कोरोना त्रासले छोराछोरीलाई लिएर गाँउ फर्किन लागेका हुन्।
अचानक स्कुल, कलेज बन्द भएर गाँउ फर्कनेको संख्या बढेपछि बसपार्कमा भिड बढेको छ।
काठमाडौँको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भीड लागेको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए।
बिहीबार मात्रै (१२ घण्टा) मा काठमाडौँ उपत्यकाबाट बाहिरिनेको संख्या ९० हजार २०४ जना रहेको छ। १६ हजार ८२४ सवारी साधन काठमाडौँ उपत्यकाबाट बाहिरिएको थियो।
यस्तै, १३ हजार ४५२ सवारी साधनमा ५६ हजार ९२५ जना काठमाडौँ उपत्यका भित्रिएका छन्। बुधबार र बिहाीबार झण्डै १ लाख ५० हजारभन्दा बढि यात्रुले काठमाडौँ उपत्यका छाडेको एसएसपी ढकालले बताए। शुक्रबार (आज) अझ बढ्ने अनुमान गरिएको उनले बताए।





