कोरोना भाइरसबाट पाकिस्तानमा दुईको मृत्यु



०६ चैत्र २०७६, काठमाडौं

पाकिस्तानमा कोरोना भाइरसको संक्रमणका कारण दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । खैबर पख्तूनख्वा प्रान्तको मरदान जिल्लामा ५० वर्षका एक व्यक्ति र हंगू जिल्लाका ३६ वर्षका अर्का व्यक्ति गरी दुईकाे मृत्यु भएको हो । प्रान्तका वित्त तथा स्वास्थ्यमन्त्री तैमुर खान झगडाले यसबारे पुष्टि गरेका छन् ।

३६ वर्षका ती व्यक्ति भर्खरै दुबईबाट फर्किएको मन्त्रीले ट्वीटरमार्फत् जानकारी दिएका छन् ।पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो छ । पाकिस्तानको राजधानी इस्लामाबाद, पंजाब, सिन्ध,  खैबर पख्तूनख्वा र पाकिस्तान प्रशासित कश्मीरमा संक्रमितको संख्या ३ सय ७ पुगेको छ ।

यस्तै, पाकिस्तान प्रशासित कश्मीरमा एक व्यक्तिसमेत संक्रमित भएको पुष्टि भएको छ । यसैगरी पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा कोरोना भाइरसका ३ सय जना संक्रमित उपचार गराइरहेका छन् जसमध्ये २ जनाको मृत्यु भइसकेको छ भने २ जना ठिक भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्