
०५ चैत्र २०७६, काठमाडौं
सरकारले अत्यावश्यक काममा बाहेक आवतजावत र हिँडडुल नगर्न नागरिकलाई आग्रह गरेको छ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सांस्कृतिक, सामाजिक कार्यक्रममा २५ जनाभन्दा बढी भेला नहुन पनि आग्रह गरेको छ।
विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी मानिसहरु भेलामा रोक लगाउने पनि सरकारले निर्णय गरेको छ।
यसको अनुगमन गृह मन्त्रालय र संस्कृति एवम् पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने पनि समितिको निर्णयमा उल्लेछ।
साथै यससम्बन्धमा प्रदेश र स्थानीय सरकारलाई पनि अनुगमन गर्न संघीय सरकारले निर्णय गरेको छ।
बुधबार बसेको समितिले विभिन्न १५ वटा निर्णयहरु गरेको छ।






