
०५ चैत्र २०७६, काठमाडौं
विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेशमा रोक लगाइने भएको छ।
कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि नेपाल र भारतका अधिकारीबीच भएको छलफलपश्चात् जाँचबिना सीमामा ओहोरदोहोर गर्न रोक लगाइने भएको हो।
कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भन्दै नेपाल–भारत दुवै देशका अधिकारीले सीमाक्षेत्रमा सुरक्षा र स्वास्थ्य जाँचलाई अझ कडा बनाइने निष्कर्ष निकालेका छन्।
सीमावर्ती भारतीय नाका रुपैडिहाको अवलोकन गर्न आएका भारत उत्तरप्रदेशको बहराइच जिल्लाका डीएम शम्भुकुमार र एसपी विपिनकुमार मङ्गलबार मध्याह्न एक्कासी नेपालगञ्ज आएका थिए।
उनीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीलगायतका नेपाली अधिकारीसँगको भेटपछि स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेशमा रोक लगाइने निष्कर्ष निकालिएको हो।





