कोरोनाको त्रास – कतारबाट नेपाली डिपोर्ट, नेपालबाट ३५ विदेशी फिर्ता



०४ चैत २०७६, काठमाडौैं

अध्यागमन विभागले मेडिकल रिपोर्ट र भिसाबिनै नेपाल प्रवेश गरेका ३५ विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाएको समाचार छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले आइतबारदेखि लागू हुनेगरी अनअराइभल भिसा रद्द गरेको थियो भने भिसा लिएर आउनेका हकमा पनि सात दिनभित्रको मेडिकल परीक्षण रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरेको थियो।

त्यसको पालना नगर्ने विदेशी नागरिकलाई फिर्ता पठाइएको अध्यागमन विभागअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका निर्देशक राजेश पन्थीले जानकारी दिए। ‘अनअराइभल भिसा बन्द गरिएको र विदेशबाट आउँदा मेडिकल रिपोर्ट देखाउनुपर्ने व्यवस्था भएको र त्यसको बेवास्ता गरी सोमबारसम्म नेपाल आएका ३५ जनालाई अध्यागमनबाटै फिर्ता पठाइएको छ,’ पन्थीले भने, ‘जसमध्ये मेडिकल रिपोर्टबिनै आएका धेरै फिर्ता भएका छन् भने केही भिसा नलिई आउनेलाई फिर्ता गरिएको छ।’

विमानस्थल अध्यागमनका अनुसार परिवर्तित अध्यागमन नियम पालना नगरेका कारण फिर्ता हुने नागरिकहरूमा फ्रान्सका ६ जना, चीनका पाँचजना, बेलायतका पाँचजना, जापानका चारजना, नेदरल्यान्डस्का तीनजना, इटलीका दुईजना, इजरायलका दुईजना, चेक रिपब्लिकका दुईजना छन्। त्यसैगरी हङकङका एकजना, अमेरिकी एकजना, मेक्सिकोका एकजना, अफगानस्तानका एकजना, अस्टे«लियाका एकजना र मलेसियाका एकजना छन्। विभाग स्रोतका अनुसार फिर्ता हुनेमा केही विदेशी पासपोर्ट लिएका गैरआवासीय नेपालीसमेत छन्। पछिल्लो नियमअनुसार विदेशी पासपोर्ट वाहक गैरआवासीय नेपालीले पनि सात दिनभित्रको स्वाब रिपोर्टसहित सम्बन्धित देशमा रहेको नेपालको कूटनीतिक नियोगबाटै भिसा लिनुपर्ने व्यवस्था छ। नागरिक दैनिकमा समाचार छ ।

कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । दुई जना दुई दिनअघि र १८ जना सोमबार फिर्ता भएका हुन् ।

खाडी मुलुकले पछिल्लो समय कामदारलाई सेल्फ क्वारेन्टाइन र सामूहिक क्वरेन्टाइनमा राखेको छ । कामदार क्वारेन्टाइनबाट सीधै काम गर्ने स्थानमा जान पाउँछन् । तर बाहिर जान पाइँदैन । त्यसबारे दूतावासले पनि सूचना जारी गरेको छ । तर ती नेपाली निषेधित क्षेत्रमा पुगेकाले पक्राउ गरी स्वेदश फर्काइदिएको परराष्ट्र अधिकारीले बताए । कतारको सुरक्षा निकायले २७ जनालाई पक्राउ गरेको थियो । परीक्षण गर्दा ज्वरो देखिएका ७ जनालाई भने आइसोलेसनमा राखिएको छ । यूएई, साउदी अरेबिया, ओमान, बहराइन र कुवेतले पनि घरबाट बाहिर ननिस्कन स्वदेशी एवम् विदेशी सबैलाई आग्रह गरिसकेका छन् । नेपाल सरकारले यसबारे सूचना प्रवाह गर्न दूतावासलाई पत्राचार गरेको थियो ।

सबैजसो खाडी मुलुकमा कार्यरत कामदारलाई जोखिम क्षेत्रमा नजान भन्दै क्वारेन्टाइनमा राखिएको छ । कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्रभित्रै क्वारेन्टाइन बनाएर राखिएको परराष्ट्र अधिकारीले बताएका छन् । उनीहरू क्वारेन्टाइनबाटै काममा आउने–जाने गर्छन् । खाडीका सबै मुलुकमा सुरक्षा व्यवस्था कडा गरिएको छ । विदेशी आउजाउमा रोक लगाइएको छ । साउदी अरेबियाले मुस्लिमको पवित्र स्थल मक्का मदिना जानेलाई रोक लगाइएको छ । नेपाली रहेका मुलुकमा कोही न कोही व्यक्तिमा कोरोनाको शंका भएपछि निकट रहेका सबैलाई क्वारेन्टाइनमा राखिएको छ । नेपाली कामदारलाई आफू बसेको देशको कानुनी व्यवस्थाबारे सेचत हुन जानकारी गराउन परराष्ट्रले खाडीलगायत सबै मुलुकमा रहेका नियोगलाई पत्राचार गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्