
०२ चैत्र २०७६, काठमाडौं
अब बसभित्र पनि रक्तदान गर्न सकिने भएको छ। रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणमैत्री बस नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले नेपालमा पहिलो पटक पोखरामा भित्र्याएपश्चात् सो सुविधा पुगेको हो।
रोटरी क्लब अफ अन्नपूर्ण पोखरा र कोरियन रोटरी क्लब रोटरी क्लब अफ याङ्जुको संयुक्त लगानीमा रु. एक करोडको लगानीमा शाखाले सो बस सञ्चालनमा ल्याएको शाखाका सभापति डोलराज पाण्डेले जानकारी दिए।
शनिबारदेखि नै सो बसभित्र रगत सङ्कलन शुरु भएको जनाइएको छ। बसभित्र रक्तदान गर्न आवश्यक सबै उपकरण जडान गरिएको छ। समग्र गण्डकी प्रदेशलाई सो सेवाबाट फाइदा पुग्ने विश्वास लिइएको छ।
भारतमा निर्मित ‘आइसर’ कम्पनीको उक्त बस वातानुकूलित (एसी) रहेको जनाइएको छ। दान श्यया, फ्रिज, प्राथमिक उपचार सामग्रीसहितको बक्स, स्टाफ नर्स र अक्सिजनको व्यवस्थाका साथै रक्त सञ्चारसम्बन्धी सूचनामूलक सामग्री बसभित्र राखिएका छन्।
बस सञ्चालनमा आएपछि पानी परेको बेला या प्रतिकूल मौसममा समेत रक्तदान कार्यक्रमलाई निरन्तरता दिन सकिने बताइन्छ।





