
२९ फागुन २०७६,काठमाडौं
निर्माणाधीन पोखराको क्षेत्रीय विमानस्थलमा कार्यरत ७१ चिनियाँ कामदारलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ।
विमानस्थलमा हाल १९० चिनियाँ कामदार कार्यरत छन्।
क्वारेन्टाइनमा राखिएका ७१ कामदार केही पुराना र केही नयाँ कामदार रहेको विमानस्थल प्रमुख विनेश मुनाकर्मीले जानकारी दिए। कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य सतर्कतालाई विशेष ध्यान दिएको र स्वयं कामदार पनि स्वास्थ्यप्रति सचेत रहेकाले नेपाल आएपछि पनि थप १० दिन सेल्फ क्वारेन्टाइन बस्ने गरेको उनले बताए।
प्रमुख मुनाकर्मीले भने, “चीनबाट आउनुभएका नयाँ पुराना कामदार त्यहाँ पनि १४ दिन क्वारेन्टाइनमा बसेर र हेल्थ सर्टिफिकेट लिएर आउनुभएको छ। नेपाल आएपछि पनि सेल्फ क्वारेन्टाइनमा बसेर काममा फर्कनुहुन्छ।”
यसअघि पनि ३६ चिनियाँ कामदार सेल्फ क्वारेन्टाइनमा बसेर काममा फर्किएको र अहिले ७१ पनि त्यसरीनै सेल्फ क्वारेन्टाइनपछि काममा फर्केने उनको भनाई छ। उनीहरु यही फागुन २१, २२, २३ गते चीनबाट नेपाल आएका थिए।
सन् २०२१ जुलाईमा सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त विमानस्थलको हाल ५५ प्रतिशत काम सम्पन्न भएको प्रमुख मुनाकर्मीले जानकारी दिए।
सम्पन्न मितिको छ महिनाअगावै ९५ प्रतिशत मुख्य काम सकिने उनले बताए। हाल निर्माणाधीन विमानस्थलमा क्वारेन्टाइनमा राखिएकाबाहेक १९० चिनियाँ र २८० नेपाली कार्यरत छन्।





