
२७ फागुन २०७६, काठमाडौं
राष्ट्रिय शिक्षा नीतिले नै बालबालिकालाई निवासनजिकको विद्यालयमा अध्ययन गर्न प्रेरित गर्ने नीति लिएको छ । तर, विद्यालयको व्यापारमोह र अभिभावकको भ्रमले उपत्यकाका बालबालिका काठमाडौंको जाम र धुलोमा दैनिक अत्यासलाग्दो यात्रा गर्न बाध्य छन् ।
घरबाट विद्यालय जाँदा र विद्यालयबाट घर फर्किँदा दैनिक चार घन्टा गाडीमै बिताउन बाध्य छन् बालबालिका । चर्को जाम छिचोल्दै, धुवाँ–धुलो खाँदै हुने यात्रामा गाडीमै निदाउँछन् । उनीहरूको विद्यालयमा पढ्ने समयभन्दा कष्टकर यात्रा बढी हुने गरेको छ ।
राम्रो विद्यालय रोज्ने नाममा अभिभावककै भ्रमले बालबालिकालाई यातना भइरहेको छ । बुढानीलकण्ठ क्षेत्रका अभिभावक चोभारदेखि धापाखेलसम्मका विद्यालयमा बालबच्चा पठाउँछन् । तर, चोभार र धापाखेलका अभिभावक फेरि बुढानीलकण्ठतिर दौडाउँछन् । कलंकी, सातदोबाटो, हात्तीवन क्षेत्रका अभिभावक नजिकका विद्यालय छाडेर कपनदेखि बाँसबारीसम्म कुदाउँछन् ।
उपत्यकाका ठूला भनिएका विद्यालयले यसरी टाढा–टाढाबाट विद्यार्थी ओसार्छन् । आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले यो समाचार लेखेका छन् ।





