
२६ फागुन २०७६, काठमाडौं
कोरोना भाइरसको संक्रमणबाट जोगिन होलीमा रमझम र भीडभाड नगर्न विज्ञहरूले सुझाव दिएका छन् । होलीको दिन सोमबार सरकारले सार्वजनिक विदा दिएको छ ।
तर, एक आपसमा रङ छर्कदा र चिसोपानीमा भिज्दा कोरोना संक्रमणको जोखिम उच्च रहने भन्दै यसबाट सजग रहन सचेतसमेत गराएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन र स्थानीय सरकारले समेत सार्वजनिक सूचना गरेर होलीमा विगतमा जस्तो तडकभडक नगर्न अनुरोध गरेका छन् ।
नेपाल चिकित्सक संघका अध्यक्ष तथा वीर अस्पतालका फिजिसियन डा. लोचन कार्कीले अहिलेको अवस्थामा होली खेल्न नहुने बताए । होली खेल्ने नाममा भीडभाडमा जम्मा हुँदा कोरोना भाइरसको संक्रमणको जोखिम बढी हुने कार्कीको भनाइ छ ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा सूर्यप्रसाद पाण्डेले यो समाचार लेखेका छन् ।





