
२५ फागुन २०७६, काठमाडौं
महामारीको रुपमा फैलिएको कोरोना भाइरसबारे विभिन्न देशले आफ्नै प्रकारका धारणा सार्वजनिक गरेका छन्।
चीनको वुहानबाट सुरू भएको यो भाइरस पछिल्लो समय अन्य देशको पनि टाउको दुखाईको बिषय बन्न पुगेको छ।
विभिन्न हल्ला र समाचारका प्रभावले नेपालमा मास्कको अभाव देखिएको छ भने संयुक्त राज्य अमेरीकाकी एक संक्रमण रोकथाम विशेषज्ञ डा. इली पेरेन्सभिचका अनुसार सङ्क्रमण नभएका व्यक्तिले मास्क लगाउँदा झनै जोखिम भएको बताएकी छन्।
पेरेन्सभिचका अनुसार स्वास्थ्य अवस्था सामान्य रहेका व्यक्तिहरुले मास्क लगाउन अनिवार्य नभएको बताउँदै सामान्य स्वास्थ्य अवस्था रहेका व्यक्तिहरुले मास्कको प्रयोग गर्नु अझ जोखिमयुक्त हुनसक्ने बताएकी छन्।
फोब्सका अनुसार उनी भन्छिन् ‘हालसम्म स्वस्थ व्यक्तिले मास्क लगाउँदैमा कोरोना भाईरसको संक्रमणबाट जोगिन्छ भन्ने कुनै तत्थ्य प्रमाणित भएको छैन।
तर मास्क प्रयोग गर्ने उपयुक्त तरिका नजान्दा अझ बढी जोखिमयुक्त बन्न सक्छ।’
कोरोना भाईरस हावाको माध्यमबाट सर्ने भाईरस नभई सम्पर्कबाट सर्नेहुँदा मास्क लगायपपश्चात् पटक–पटक हातले अनुहारमा छोइने भएकाले कोरोना भाईरसको जोखिम बढ्नसक्ने डा. पेरेन्सभिचको भनाई छ।
नेपालमा भने कोरोना भाईरसबाट जोगिन सबैभन्दा सुरक्षित मानिने एन ९५ नामक मास्क त परैको कुरा बजारमा साधारण पेपर मास्कको समेत अभाव देखिन थालेको छ।





