३० रुपैयाँमा पाइने मास्कलाई १०० रुपैयाँमा बेच्दै…



२३ फागुन २०७६, काठमाडौं

तीस रुपैयाँमा पाइने मास्कलाई १०० रुपैयाँमा बेच्ने गरेको पाइएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य विभाग जिल्ला बजार अनुगमन समितिले ललितपुरका विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा बढी मूल्य लिएर मास्क बेच्ने गरेको पाइएको हो।

समितिले अनुगमन गर्दा टाइम मेडिकेयर फार्मेसीले रु. ३० रुपैयाँ पर्ने मास्कलाई हाल रु. एक सयमा बेच्ने गरेको पाइएको छ।

सो फार्मेसीसँग खरीद बिल पनि नभएको पाइएको छ। सो पसलबाट छ थान मास्क जफत गरिएको छ।

यसैगरी पाटन अस्पताल नजीकै सञ्चालित जिपिपी म्यानकाइण्ड प्रालिले कपडाको मास्क साधारण खरीदको बिलसमेत पसलमा नराखेको र रु. २५ मा बेच्नुपर्नेमा रु. ५० लिएर व्यापार गरेवापत अनुगमन समितिले २२ थान मास्क जफत गरेको छ।

बजारमा मास्क तथा औषधिको मूल्य वृद्धि र अभाव भएसँगै उचित मूल्य निर्धारणका लागि आज १२ पसलमा अनुगमन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्