चीनमा मात्रै करिव ५४ हजार कोरोना संक्रमित निको भए



२३ फागुन २०७६, काठमाडौं

सन् २०१९ को अन्तिमतिरबाट चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भारइस अर्थात् कोभिड–१९ बाट विश्वभर ३३ सयभन्दा बढीको मृत्यु भइसकेको छ।

हाल चीनमा (हङकङ र ताइवान) मा गरी ८० हजार ७१० कोरोना संक्रमित भएको चिनियाँ सञ्‍चारमाध्यम सीजीटीएनले जनाएको छ। चीनमा मात्र ३ हजार ३४ जनाको मृत्यु भएको छ।

त्यसैगरी कोरोना संक्रमितहरु उपचारपश्चात् निको हुने दर पनि बढेको छ। चीनमा कोरोना संक्रमितको उपचारपछि ५३ हजार ७२७ जना निको भएको जनाइएको छ।

वुहानमा पहिलोपटक निमोनिया देखिएको थियो। निमोनिया देखिएपछि चिनियाँ एकजना चिकित्सकले नोभोल कोरोना भएको चेतावनी दिएका थिए।

चीनमा पहिलो पटक कोरोना भाइरसको चेतावनी दिने चिकित्सकको यसअघि नै मृत्यु भइसकेको छ। हालसम्म चीनमा चारजना चिकित्सकको मृत्यु भएको छ।

विश्वभरमा ८५ मुलुकमा फैलिएको कोरोनाबाट चीनबाहिर १७ हजारभन्दा बढी संक्रमित भएका छन् भने ३४० जनाजतिको चीनबाहिर मृत्यु भइसकेको छ।

चीनबाहिर सबभन्दा धेरै इटालीमा १४८, इरानमा १०७ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा ४२ र जापानमा १२ जनाको मृत्यु भइसकेको छ।

विश्‍वभरका वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सिन बनाउने दौडमा जुटिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्