
२३ फागुन २०७६, काठमाडौं
माक्सको कालो वजारी गर्ने पोखराका २ मेडिकलमा तालाबन्दी गरिएको छ।
औषधी पसलहरुले दोब्बर, तेब्बर मूल्यमा मास्क बेचिरहेको भन्दै सर्वसाधारणले गुनासो गरेपश्चात् वजार अनुगमन गरेको सरकारी टोलीले तालाबन्दी गरिदिएको हो।
गण्डकी प्रदेश बजार अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा मास्कमा कालोबजारी गरेको भेटिएपश्चात् पसलमा ताला लगाइदिएको छ।
त्यस्ता २ मेडिकलमा अनुगमन टोलीले ताला लगाएको जनाएको छ। पोखराको महेन्द्रपुलस्थित स्याङ्जा औषधी पसल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अघिल्तिरको परी औषधी पसलमा ताला लगाएको अनुगमनमा सहभागीहरुले बताएका छन्।
स्याङ्जा औषधी पसलले २ सय बजार मूल्य पर्ने ९५ अंकित मास्कलाई ४ सय ५० रुपैयाँसम्ममा बचेको फेला परेपश्चात् कारवाही स्वरुप तालाबन्दी गरिएको हो।
परी औषधि पसलले १० रुपैयाँ पर्ने साधारण मास्कलाई ३० रुपैयाँमा बिक्री गरेको भेटिएको थियो।
पसल बन्द गराएपश्चात् बजार अनुगमन टोलीले स्याङ्जा औषधी पसलका सञ्चालक केदार पोखरेललाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन ३ दिने म्याद दिएको छ।
त्यस्तै, परी औषधी पसलका सञ्चालकलाई पनि बजार अनुगमन टोलीले प्रशासनमा हाजिर हुन निर्देशन दिएको छ।








