जीवनमा पहिलोपटक भिडियो एक्स–रे गरियोः गर्भवती महिला



२२ फागुन २०७६, काठमाडौं

आर्थिक अवस्था कमजोर भई स्वास्थ्य संस्था आउन नसक्ने गर्भवतीका लागि गाउँगाउँमा निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गरिएको छ।

भेरी नगरपालिकाले स्वास्थ्य संस्था आउन नसक्ने गर्भवतीलाई गर्भजाँच गर्न निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गरेको हो।

भिडियो एक्स–रे गरी गर्भजाँच गर्ने अधिकांश महिलाले जीवनमा पहिलोपटक भिडियो एक्स–रे गरेको बताएका छन्।

भेरी–११ कट्टी गाउँकी रमिता कामीले भने, “भिडियो एक्स–रे कस्तो हुन्छ भन्ने थाहा थिएन, अहिले पहिलोपटक गाउँमै आफैले सेवा लिएर थाहा पाए, हामीसँग पैसा नभएका कारण भिडियो एक्स–रे गर्ने चाहना हुँदाहुँदै पनि घरमा बस्नु परेको थियो।”

उनी जस्तै अर्की तुली विक अहिले दोस्रोपटक गर्भजाँच गर्न जगतिपुर स्वास्थ्य चौकीमा आएकी छन्। “पहिलोपटक जाँच नगरी छोरीको जन्म दिए, अहिले नगरपालिकाले भिडियो एक्स–रे गर्दैछ भन्ने सुनेर भिडियो एक्स–रे गर्न आए”, उनले भनिन्, “यो वर्षदेखि नियमित गर्भजाँचदेखि भिडियो एक्स–रेसम्म गर्न पाइयो, असाध्यै खुशी लागेको छ।”

अहिले नगरपालिकाले १४ वटै वडामा गर्भवतीको स्वास्थ्य परीक्षणका साथै भिडियो एक्स–रे सेवा गर्दै आएको छ। सुरक्षित मातृत्व कायम गरी नवजात शिशुको मृत्युदर घटाउन यो अभियान चालिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए।

पैसाको अभावमा कोही गर्भवतीको स्वास्थ्य जाँच गर्न समस्या नहोस् भनी नगरपालिकाले यस्ता खालका कार्यक्रम गर्दै आएको उनको भनाइ छ

प्रतिक्रिया दिनुहोस्