
२१ फागुन २०७६, काठमाडौं
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गर्दै त्रिवि शिक्षण अस्पतालमा शभेच्छुकहरूको भीड छ।
त्यही भीडमा एक महिला पनि छन्। उनी हुन् अन्जान घिमिरे। अन्जान प्रधानमन्त्री ओलीलाई पहिलो पटक मृगौला दान गर्ने व्यक्ति हुन्। उनी प्रधानमन्त्री ओलीकी भाइ-बुहारी हुन्।
प्रधानमन्त्री ओलीको दोस्रो पटक सफल मृगौला प्रत्यारोपण भएपश्चात् प्रसन्न मुद्रामा देखिएकी उनीसँग स्वास्थ्यखबरकी कमला गुरुङले छोटो कुराकानी गरेकी छिन्।
अन्जानका धारणा उनकै शब्दमाः
मलाई उहाँको प्रत्यारोपण सफल भएकोमा एकदमै खुसी लागेको छ। उहाँ भर्ना हुनु एक दिनअघि भेट्न गएको थिएँ।
भेट हुँदा मलाई ‘नआत्तिनु अहिले प्रविधि पनि नयाँ–नयाँ आएको छ। त्यसैले प्रत्यारोपण सफल हुन्छ’ भन्नुभएको थियो।
राम्रो भएर आउँछु भन्नुभएको थियो। अझ धेरै जोसका साथ काम गर्नुछ भन्नुभएको थियो।
शल्यक्रिया गर्नु जानुअघि मैले उहाँलाई परैबाट देखेको थिएँ। त्यो बेलामा बोलाउने कुरा पनि भएन। परैबाट हेरेको मात्र हो।
मेरो भान्जी पनि आँटिली नै हुन्। माइजु आँटिली भएपछि भान्जी पनि हुनुपर्यो नि (हाँस्दै)।
उहाँले शल्यक्रिया गर्न जानुअघि के–कस्तो हुन्छ भनेर सोध्नुभएको थियो।
मैले ‘शल्यक्रिया गर्दा अलिअलि दुखिहाल्छ, अरु केही हुँदैन। कसले के भन्छ भनेर ध्यान नदिनु’ भनेकी थिएँ।
केही हुँदैन भन्ने मलाई हेरे पनि हुन्छ नि भनेर हौसला दिएको थिएँ।





