
१९ फागुन २०७६, काठमाडौं
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी हुन थालेपछि सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय उडानका अवस्था र परिस्थितिको सूक्ष्म मूल्याङ्कन गरी केही दिन वा महिनाका लागि चीनलगायत देशका उडानमा रोक लगाउन सोमबार सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले अन्तर्राष्ट्रिय उडानका अवस्था र परिस्थितिको सूक्ष्म मूल्याङ्कनका साथ आम जनताको स्वास्थ्यसम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन वा महिनाका लागि चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरान आदि देशका उडानमा रोक लगाउन अन्तरिम आदेश दिएको हो ।
कोरोना भाइरसको संक्रमण विश्वव्यापी हुँदै गएको भए पनि नेपालमा त्यसको रोकथामको कुनै पनि प्रक्रिया अवलम्बन नगरेको उल्लेख गर्दै अधिवक्ता पूर्ण राजवंशीले रिट निवेदन दायर गरेका थिए ।
सो रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि ती देशका अन्तर्राष्ट्रिय उडानमा रोक लगाई उत्तर र अन्य सीमाको स्थलमार्गबाट प्रवेश गर्ने नेपाली तथा विदेशीको स्वास्थ्य जाँचका लागि प्रभावकारी उपकरणसहित दक्ष जनशक्तिको अनिवार्य व्यवस्था गर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा विकास भट्टराईले लेखेका छन् ।





