
१८ फागुन २०७६, काठमाडौँ
दोहास्थित नेपाली दूतावासले कोरोना भाइरसको सङ्क्रमण देखिएपश्चात् कतारमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
दूतावासले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन अवलम्बन गर्नुपर्ने उपाय अपनाउन आग्रह गरेको हो।
कतारमा करीब चार लाख नेपाली विभिन्न पेशा व्यवसयामा संलग्न छन्।
दूतावासले हाछयुँ गरेपश्चात् वा खोकेपश्चात्, खाना पकाउनु वा खानुअघि, शौचालय प्रयोगपश्चात्, बिरामी भेटेपश्चात् हात फोहर भएमा वा जनावर छोएपश्चात् अनिवार्यरुपमा हात धुन सबैलाई अनुरोध गरेको छ।
यस्तै साबुनपानीले हात धुन, फोहर हातले नाक, मुख र आँखा नछुन, हाछ्युँ गर्दा वा खोक्दा नाक र मुख बन्द गर्न वा रुमाल प्रयोग गर्न, रुघाखोकीको सङ्क्रमण भएका वा श्वासप्रश्वाससम्बन्धी समस्या हुने व्यक्तिको निकटमा नबस्न पनि दूतावासले आग्रह गरेको छ।





