
१८ फागुन २०७६, काठमाडौँ
नेपाल कोरोना भाइरसको अति जोखिमयुक्त सूचीमा परेपश्चात् प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीस्तरीय आकस्मिक बैठक डाकेका छन्।
बालुवाटारमा आज बसेको बैठकले कोरोना नियन्त्रण गर्न ६ बुँदे निर्णय गरेको छ।
बैठकमा सहभागी भएका स्वास्थ्य मन्त्री भानुभक्त ढकालका अनुसार आजको बैठकले मुख्य त निम्नअनुसारको निर्णय गरेको छ।
१. उपप्रधानमन्त्री पोखरेलको अध्यक्षतामा उच्चस्तरीय समिति
कोरोना जोखिमबाट जोगिन उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गृह, स्वास्थ्य, पराराष्ट, शिक्षा, पर्यटन, अर्थ, कृषि, सञ्चार मन्त्री सदस्य रहने उच्चस्तरीय कमिटि बनाएको छ।
यसले आन्तरिक तथा बाहिय अवस्थाको आँकलन गरी आवश्यक निर्णय लिने र सम्वन्धित निकायलाई निर्देशन दिने जिम्मेवारी पाएको छ।
२. उडान स्थगित गर्ने बारेमा एक दुई दिन भित्र निर्णय हुन्छ
कोरोना भाइरसको संक्रमण अहिलेसम्म ६० देशमा पुगिसकेको छ। विभिन्न देशहरुले कोरोना प्रभावित क्षेत्रमा हवाई उडान रोकेका छन् । स्वास्थ्य मन्त्री ढकालले त्यसबारेमा पनि कुरा उठेको र एक दुई दिनमा निर्णय हुने जानकारी दिए।
‘कोरोनाबाट प्रत्यक्ष रुपमा प्रभावित स्थान र मुलुकमा उडानको बारेमा यो कमिटिले एक दुई दिन भित्र बैठक बसेर निर्णय गर्नेछ,’ उनले भने।
३. त्रिभुवन विमानस्थलमा हरेक यात्रुको स्वास्थ्य जाँच, नेपाल आउनका लागि कोरोना मुक्त हुनुपर्ने
बैठकले त्रिभुवन विमानस्थलमा छिर्ने हरेक यात्रुको कडाईका साथ स्वास्थ्य जाँच गर्ने निर्णय गरेको छ। यस्तै विदेशबाट नेपाल आउनका लागि हरेक व्यक्तिले कोरोना छैन भन्ने प्रमाणित भएको हुनुपर्ने नियम समेत लगाउँदै छ। त्यसका लागि विभिन्न एडभाइजरी जारी गर्ने समेत योजना छ।
४. प्रभावित क्षेत्रबाट आउनेले १४ दिन क्वारेन्टाइनमा बस्नै पर्ने, व्यवस्थापन स्वयंको
अब कोरोना प्रभावित देशबाट नेपालीलाई स्वेच्छाले आउन पाउने तर आएपछि १४ दिन क्वारेन्टाइनमा बस्नै पर्ने व्यवस्था लागू हुने भएको छ।
सो क्वारेन्टाइनको सबै व्यवस्थापन व्यक्ति स्वयंले मिलाउनुपर्ने निर्देशन दिइने स्वास्थ्य मन्त्री ढकालले बताए। ‘अब क्वारेन्टाइनमा बस्नै पर्छ र त्यसको व्यवस्था स्वयं व्यक्ति र परिवारले गर्नुपर्ने व्यवस्था मिलाउँदै छौँ ,’ उनले भने।
५. एयर लिफ्ट गरेर ल्याउँदैन
स्वास्थ्य मन्त्री ढकाल भन्छन्, ‘कोरोना प्रभावित देशमा रहेका नेपालीलाई अब जे सुकै होस सबै आफै गर भनेर सरकार उम्किने भन्ने होइन। परिस्थिति अनुसार कदम चाल्दछ। तर सकेसम्म अब आफै नै जोगिने हो।
आफै सुरक्षित हुने हो। चीनमा थोरै थिए तर कोरिया र मध्येपूर्वका देशहरुको संख्या हेर्ने हो भने लाखौँमा छ। ती सबैलाई एयर लिफ्ट गरेर ल्याउने र क्वारेन्टाइनमा राख्ने भन्ने कुरा कति सम्भव छ। त्यो पनि बिचार गर्नुपर्ने हुन्छ।’
६. नेपाल भ्रमणवर्षको अन्तराष्टिय क्याम्पियन स्थगित, सम्मेलनहरुको बारेमा सरकारलाई जानकारी अनिवार्य
सरकारले नेपाल भ्रमण बर्षको अन्तराष्टिय क्याम्पियन स्थगित गरेको छ। स्वास्थ्य मन्त्री ढकाल भन्छन् , बरु आन्तरिक पर्यटनलाई प्रवर्धन गर्ने, अहिले बाहिय पर्यटकलार्य प्रवर्धन गर्ने कार्य स्थिगित भएको छ।
नेपालमा गर्ने भनिएका अन्तराष्टिय स्तरका गोष्टी सम्मेलन आदिको बारेमा पुर्नबिचार गर्ने, सरकारलाई जानकारी दिने र त्यसबारेमा सरकारले आवश्यक निर्दैशन दिन सक्ने भनिएको छ।





