गर्भपतन सेवा अस्थायी साधन बन्दै



१६ फागुन २०७६, काठमाडौं

निःशुल्क सञ्चालनमा रहेको सुरक्षित गर्भपतन सेवा पछिल्लो समय अस्थायी साधनका रूपमा प्रयोग हुन थालेको छ।

यहाँका १८ स्वास्थ्य सस्थाले आइपास नेपाल र सामुदायिक विकास मञ्च (सिडीएफ) संयुक्त सहयोगमा सो सेवा प्रदान गर्दै आएका छन्।

गर्भपतन सेवा निःशुल्क भएपश्चात् सेवा लिनेको सङ्ख्या वृद्धि भएकोे केआइसिंह गाउँपालिका–४ दुर्गामाडौँ स्वास्थ्य चौकीका डा. राजु गुरुङले जानकारी दिए।

उनले भने, “निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरु भएपश्चात् महिनैपिच्छे गर्भपतन गराउन आउन थाले, यो समस्याको विषय हो।”

उनका अनुसार अस्थायी साधन प्रयोग गर्नुको विकल्पमा गर्भपतनका लागि स्वास्थ्य संस्था धाउन थालेका छन्।

अस्थायी साधनको प्रयोग नगरी शारीरिक सम्पर्क गर्ने र गर्भपतन गराउन आउनेको सङ्ख्या बढ्ने गरेको स्वास्थ्य चौकीका अनमी गीता भट्टले बताइन्। उनले भनिन्, “अस्थायी साधन प्रयोग गर्ने महिलाको सङ्ख्या कम छ, गर्भ रहे निःशुल्क हो भन्दै गर्भपतन गराउन आउँछन्, पछि गएर यो जटिल समस्याको विषय बन्न सक्छ।”

यहाँका स्वास्थ्य चौकीको तत्थ्याङ्कअनुसार एकै महिलाले वर्षमा तीनदेखि चारपटकसम्म गर्भपतन गराउन आउने गरेका छन्।

विसं २०७३ माघबाट सो चौकीमा शुरु गरिएको सो सेवा हालसम्म २५३ ले लिएका छन्। ती मध्ये नौ किशोरी रहेको अनमी भट्टले जानकारी दिइन्।

उनले भनिन, “हामीकहाँ मात्रै गर्भपतन गराउनेको सङ्ख्या दिनानुदिन बढिरहेको छ, गर्भपतन सेवा अस्थायी साधनजस्तै बनेको छ।”

प्रतिक्रिया दिनुहोस्