पार्टीको निर्णय नमानेर हुन्छ ? टाउकाले टेकेर कार्यान्वयन गर्नुपर्छ : खनाल



१५ फागुन २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय कार्यान्वयन गर्नैपर्ने बताएका छन् ।

‘पार्टी निर्णय नेकपाका सबै नेता–कार्यकर्ताले पालना गर्नुपर्छ । पार्टी निर्णयको खिलाफमा जाने छुट कसैलाई पनि हुँदैन,’ बिहीबार प्रकाशित नयाँ पत्रिका दैनिकलाई अन्तर्वार्ता दिँदै नेता खनालले भनेका छन्, ‘प्रधानमन्त्रीले पनि टाउकाले टेकेर पनि पार्टी निर्णय कार्यान्वयन गर्नैपर्छ ।’

बुधबारको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय गरेको थियो । तर, सचिवालयले गरेको निर्णय उल्टाउँदै प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई नै राष्ट्रिय सभामा निरन्तरता दिने भन्दै सचिवालयको निर्णय अस्वीकार गरिदिएका थिए ।

सोही सन्दर्भमा नयाँ पत्रिकासँगको कुराकानीमा खनालले यस्तो बताएका हुन् ।

बैठकमा निर्णय हुँदा प्रधानमन्त्रीले कुनै असहमति राख्नुभएको थियो कि थिएन ? भन्ने प्रश्नमा खनालले भनेका छन्, ‘अहँ, राख्नुभएको थिएन । उहाँले पनि समर्थन गर्नुभएको हो । सर्वसम्मत निर्णय भएको हो ।’

उनले पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुको विकल्प प्रधानमन्त्रीसँग नभएको पनि स्पष्ट पारेका छन् । ‘पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुबाहेक उहाँसँग विकल्प छैन । कि त प्रधानमन्त्री नै नेकपाबाहिर जानुपर्‍यो,’ नयाँ पत्रिकासँग खनालले भनेका छन्, ‘नेकपाको अध्यक्ष हुने, अनि पार्टीको निर्णय नमान्ने हुन्छ त ?’

उनले उक्त अन्तर्वार्तामा प्रधानमन्त्रीले नौजना सदस्य मनोनीत गर्ने प्रस्ताव गरेको पनि खुलासा गरेका छन् । ‘संविधान संशोधन गरेर नौजना सदस्य मनोनीत गर्ने व्यवस्था गरौँ भनेर प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको थियो । तर, बैठकले अस्वीकार गर्‍यो,’ उनले भनेका छन्, ‘संविधान संशोधनका लागि प्रस्तावित कार्यदल नै निष्क्रिय भइसकेपछि अब त्यो प्रसंगमा छलफल गर्नुको अर्थ रहेन ।’

प्रतिक्रिया दिनुहोस्