
१५ फागुन २०७६, काठमाडौं
हवाई इन्धन ढुवानी गर्ने ट्याङ्करका मुख्य साँचो (मास्टर कि) गायब गर्ने डिपो प्रमुख महेशमान श्रेष्ठमाथि नेपाल आयल निगमले समिति बनाएर अनुसन्धान थालेको छ ।
श्रेष्ठ सिनामङ्गल डिपो प्रमुख रहँदा माघ १९ गते साँचो हराएको थियो ।
साँचो राख्ने दराजको पासवर्ड डिपो प्रमुखसँग मात्रै हुन्छ ।
चार सय मुख्य साँचो गायब गरेका श्रेष्ठलाई निगमको केन्द्रीय कार्यालयमा ल्याई निगरानीमा राखेर अनुसन्धान थालिएको नेपाल आयल निगमले जनाएको छ ।
ढुवानीका क्रममा हुने चोरी तथा चुहावट नियन्त्रणका लागि निगमले २०७४ चैत १ गतेदेखि एकल ताला प्रणाली लागू गरेको थियो ।
जसमा पेट्रोलियम पदार्थ भर्ने र खन्याउने स्थानमा सुरक्षित तरिकाले ती साँचो राखिन्छ । ट्याङ्करलाई दिइँदैन ।
सिनामङ्गलस्थित डिपोबाट गायब गरिएका साँचोले ट्याङ्करबाट इन्धन चोरी हुन सक्ने भएपछि निगमले तत्काल इन्डियन आयल कर्पोरेसनसँग अनुरोध गरी साँचो सिल गर्ने व्यवस्था गरेको खबर आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।





