
१५ फागुन २०७६, काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरी चौकी टिमुरे रसुवाका प्रमुख प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरी कर्मचारीलाई निलम्बन गर्न सिफारिस गरेको छ ।
केरुङ नाकाबाट नेपाल आउदै गरेको ना. ६ ख. ४९३२ नम्बरको कन्टेनरबाट गत पुस ११ गते बरामद चारसय २२ ग्राम सुन आपसमा बाँडफाँड गरि अख्तियार दुरुपयोग गरेको अभियोगमा आयोगले घटनामा संलग्न प्रहरी कर्मचारीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको हो ।
प्रहरी प्रवक्ता शैलेश थापाक्षेत्रीका अनुसार, अबैध सुन बाँडफाँडमा संलग्न प्रहरी निरीक्षकदेखि कार्यालय सहयोगीसम्म १६ जनालाई प्रदेश–३ प्रहरी कार्यालयले कारबाही गरिसकेको छ ।
कन्टेनरबाट सुन बरामद गरी चालक फुर्वा पासाङलाई कारवाही गर्नुको सट्टा उल्टै सुन लिई छोडेको थियो ।
सोही घटनाका सम्बन्धमा अख्तियारमा उजुरी परेपछि आयोगले प्रहरी निरीक्षक खेमप्रसाद नेपाल, प्रहरी नायव निरीक्षक भोजबहादुर सेनवली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, हवल्दारहरू रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर लो तामाङलाई निलम्बन सिफारिस गरेको हो ।
त्यस्तै, जवानहरु, शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र वि.क., रिता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान, ताराबहादुर प्रजा र कार्यालय सहायक हरिबहादुर श्रेष्ठलाई निलम्बन सिफारिस गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बनको सिफारिस गरेका सबैलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गर्न आवश्यक प्रक्रिया सुरु गरिसकेको खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।





