
१५ फागुन २०७६, काठमाडौं
इलाममा विश्वमै दुर्लभ हुन लागेको चियाको जात संरक्षण गर्न माग गरिएको छ ।
चिया भन्नेबित्तिकै इलामलाई नसम्झने कमै हुन्छन् किनभने नेपालको चियाको इतिहास पनि इलाममै छ ।
इलाम सदरमुकामस्थित इलाम बजारसँगै जोडिएको चिया बगान नै नेपालको चियाको इतिहास बोकेको पुरानो बगान हो ।
वि.सं. १९२० मा तत्कालीन बडाहाकिम गजराजसिंह थापाले रोप्न सुरु गरेको चिया अहिले देशैभर विस्तार हुने तरखरमा छ ।
जहाँ पहिलो पटक चिया रोपियो, त्यही बगान भने अहिले खण्डहर बन्न थालेको छ । जिल्लावासीले विगतदेखि नै यो बगानलाई चियाको अनुसन्धान केन्द्र बनाइनुपर्ने माग सरकारसँग गरेका छन् ।
तर, नेपाल सरकारले इलाम चिया बगानसहित सातवटा चिया बगान २०५७ सालमा ५० वर्षका लागि त्रिवेणी सङ्घाई समूहलाई लिजमा दिएपछि यो चिया बगान दिनानुदिन जीर्ण बन्दै गएको छ ।
चियाको इतिहास नाशिने अवस्थामा पुगेपछि इलाम नगरपालिकाले आफ्नो छैटौँ नगर सभाबाट सरकारलाई इतिहास जोगाउन आग्रह गरेको छ ।
नगर सभाले चियाको इतिहास बचाउनकै लागि इलाम चिया बगान नगरपालिकालाई हस्तान्तरण गरिदिन आग्रहसमेत गरेको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा कोकिला ढकालले लेखेकी छन् ।





