कोरोना भाइरसको औषधि परीक्षण नेब्रास्कामा पनि शुरु



१४ फागुन २०७६, काठमाडौं

कोरोना भाइरसको उपचारका लागि पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

विश्वभर विभिन्न ५० स्थानका ४०० बिरामीलाई परीक्षणका लागि यो औषधि खुवाउने तयारी भइरहेको छ।

अध्ययनमा समावेश हुने आधा बिरामीलाई एन्टिभाइरल औषधि (रेमडेसिभर) दिइने छ भने बाँकी आधालाई प्लासेबो दिइने छ। यही प्रकृतिको औषधि अर्को एक कम्पनीले पनि परीक्षण गरिरहेको छ।

यद्यपी विश्वभर कोरोना उपचारका लागि धेरै किसिमका अध्ययनहरु हाल सञ्चालनमा छन्।

नेब्रास्का मेडिकल सेन्टरका वैज्ञानिक डा. आन्द्रे कालीलले चीनबाट फैलिएको कोरोना भाइरसको प्रकोप विश्वव्यापी बन्न लागेपश्चात् सेन्टरले तत्कालै नयाँ औषधिको खोज शुरु गरेको बताए।

कोविड–१९ सङ्क्रमण भएर अस्पताल भर्ना भएका बिरामीलाई यो औषधि परीक्षणका रुपमा खुवाउने सेन्टरको योजना छ।

“अति जरुरीमा परेका मानिसलाई सेवा गर्नु नै हाम्रो मुख्य लक्ष्य हो,” डा. कालीलले भने।

जापानको क्रुज जहाजबाट उद्धार गरिएका १४ जनालाई यही नेब्रास्का मेडिकल सेन्टरमा भर्ना गरिएको छ। तीमध्ये १२ जनामा कोविड–१९ को सङ्क्रमण देखिएको छ।

नयाँ र रहस्यमय यस कोरोना भाइरसको हालसम्म कुनै प्रामाणिक उपचार वा खोप अहिलेसम्म बनेको छैन। कोरोनाकै कारण हाल विश्वभर ८० हजारभन्दा बढी मानिसलाई सङ्क्रमित भइसकेका छन्, र २ हजार ७०० जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा अधिकांश चीनका नागरिक छन् ।

प्रतिक्रिया दिनुहोस्