
१४ फागुन २०७६, काठमाडौं
नेपाल ट्रस्टले श्वेत–पत्र जारी गर्दै थामसेर्कु प्रालिले पेस गरेको प्रस्ताव सच्याएर दरबारमार्गको जग्गा भाडामा दिइको स्पष्ट पारेको छ ।
नेपाल ट्रस्ट सञ्चालक समितिका अध्यक्ष ईश्वर पोखरेलले जारी गरेको श्वेत–पत्रमा ट्रस्टको स्वामित्वमा रहेको दरबारमार्गको जग्गा भाडामा लगाउँदा सचिवस्तरीय निर्णयबाट स्वीकृत भएको थामसेर्कु प्रालिको प्रस्ताव सहसचिवस्तरको निर्णयबाट उल्टाएर सम्झौता गरिएको उल्लेख छ ।
थामसेर्कु यती ग्रुपको भगिनी कम्पनी हो ।
ट्रस्टको स्वामित्वमा रहेको सम्पत्ति हिनामिना भएको आरोप लागेपछि त्यसलाई प्रष्ट पार्न भन्दै ट्रस्टको कार्यालयले जारी गरेको श्वेत–पत्रमा २०७३ फागुन ६ गते सचिवस्तरीय निर्णयबाट थामसेर्कु प्रालिको ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार नौ सय पाँच रुपैयाँको प्रस्ताव स्वीकृत भएको उल्लेख छ ।
ट्रस्टले मंगलबार जारी गरेको श्वेत–पत्रअनुसार गोरखापत्रमा थामसेर्कुको आर्थिक प्रस्ताव स्वीकृत गरिएको आशयको सूचना फागुन १० गते प्रकाशित भएपछि थामसेर्कुले आफूले गरेको प्रस्ताव ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार नौ सय पाँच रुपैयाँ नभई र एक अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपैयाँ भएको धारणासहितको पत्र नेपाल ट्रस्टको कार्यालयमा दर्ता गराएको थियो ।
थामसेर्कुले पेस गरेको निवेदनउपर छानबिन हुँदा प्राविधिक त्रुटिका कारण स्वीकृत भएको उक्त मूल्य सहसचिवस्तरीय पुनःनिर्णयबाट थामसेर्कु प्रालिको पछिल्लो प्रस्ताव स्वीकृत गरी सम्झौता गरेको श्वेत–पत्रमा भनिएको छ ।
ट्रस्टका तत्कालीन कार्यकारी सचिव अर्जुन कार्कीले स्वीकृत गरेको प्रस्ताव थामसेर्कुको स्वार्थबमोजिम सच्याएर सचिवबाट प्रत्यायोजन गरिएको अधिकारी प्रयोग गरी ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीले सम्झौता गरेका थिए ।
दरबारमार्गको जग्गा भाडामा दिँदा ट्रस्ट र थामसेर्कुबीच २०७४ जेठ १४ मा सम्झौता भएको थियो ।
ट्रस्टले जारी गरेको श्वेत–पत्रमा प्रस्ताव स्वीकृत गरेको मिति २०७४ वैशाख ५ उल्लेख भए पनि सम्झौता भएको मिति भने उल्लेख नभएको खबर आजको नागरिक दैनिकमा सुनिल सापकोटाले लेखेका छन् ।





