
१४ फागुन २०७६, काठमाडौं
संसद्मा सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् ।
प्रमुख प्रतिपक्ष दलका सांसदहरूले जन्मदिनमा नेपालको नक्सा अंकित केक काट्नुका साथै अडियो प्रकरणलाई लिएर उनको आलोचना गरेका हुन् ।
कांग्रेसका सांसद मीनेन्द्र रिजालले प्रधानमन्त्रीजस्तो प्रतिष्ठित व्यक्तिले तामझाम गरेर जन्मदिन मनाउनु शोभनीय नभएको बताए । ‘नेपालको नक्सा काटेर किन बर्थडे मनाएको ?’ रिजालले प्रश्न गरे, ‘राजा–महाराज जस्तो राजसी शैली देखाउनु आवश्यक थिएन ।’
प्रधानमन्त्री ओलीले जन्मदिन मनाउने तामझामले पूर्वराजाको शैलीलाई उछिनेको टिप्पणी गर्दै कांग्रेस सांसद गगन थापाले भने, ‘एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न कार्यदल बन्नुले ओली देखिँदा शूरो, यथार्थमा विचरो भएको देखिएको छ ।’
थापाले प्रधानमन्त्रीसँग संख्या भए पनि सिंगो देश चलाउने वैधानिकता नभएकाले देश र नेकपाकै स्वास्थ्यका लागि आराम गर्न सुझाव दिए ।
सांसद् थापाले सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेसका बारेमा कारबाही अगाडि नबढाउन सरकारलाई निर्देशन दिएको भन्दै भ्रष्टाचारले सीमा नाघेको टिप्पणी गरे ।
समाजवादी पार्टीकी सरिता गिरीले मुलुकमा भ्रष्टाचार व्याप्त हुँदै गएको बताउँदै विभिन्न अनियमिताको छानविनका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरिन् ।
राजपाका सांसद् प्रमोद साहले पटकपटक संविधान संशोधनका विषयमा सत्तारुढ दलसँग सहमति भए पनि कार्यान्वयन नभएको गुनासो गरे ।
यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।





